काठमाण्डु – नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र दुग्ध विकास संस्थानबिच दूध खरिदबिक्री गर्नेबारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
दुग्ध विकास संस्थान लैनचौरमा भएको सम्झौता अनुसार आगामी भदौ १ गतेदेखि केन्द्रीय संघ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवं सदस्य किसानहरूले १५ हजार लिटर दूध दैनिक डीडीसीलाई उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्झौताअनुसार आगामी दिनमा दैनिक ६० लिटर दूध डीडीसीलाई साझेदार संस्था एवम् सदस्य किसानहरूले डीडीसीलाई प्रदान गर्ने उल्लेख छ ।
डीडीसीले यी २ संस्थाका सञ्जालमार्फत यसअघि दूध लियर तिर्न बाँकी रकम आगामी १ महिनाभित्र भुक्तान गरिसक्नुपर्ने, दूधको मात्रा र गुणस्तर सुरुवाती संकलन केन्द्रमा मापन गर्दाकै कायम हुनुपर्ने, दुधको कन्भर्जको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौतापछि बोल्दै संस्थानका महाप्रबन्धक डा. सरन कुमार पाण्डेले दुग्ध क्षेत्रको विकास प्रवर्द्धन गर्न सम्झौता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । महाप्रबन्धक पाण्डेले सहकारीको मूल मर्मलाई स्थापित गर्न साना किसान कृषि सहकारी संस्थाहरूले गरेको योगदानप्रति उच्च प्रशंसा गर्दै सञ्जालसँग जोडिएर डीडीसीले काम गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताए । उनले दुग्ध संकलन र बजारीकरण मात्र नभई पशुपालन र दुग्ध उत्पादनको बहुआयमिक क्षेत्रमा काम गर्ने स्पष्ट पारे ।
डीडीसीमा विगतदेखिका भुक्तानी लगायतका समस्याहरू अब नदोहोरिने भन्दै महाप्रबन्धक पाण्डेले नियमित भुक्तानीको ग्यारेन्टी गरेरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साझा प्रयास र पहलबाट मात्र समृद्धि सम्भव रहेको भन्दै महाप्रबन्धक पाण्डेले सम्झौताले यी सबै बाटो खुलेको बताए ।
किसानको जीवनस्तर सुधारसँगै आर्थिक सामाजिक रूपान्तरणमा सुधार ल्याउन सके समग्र अर्थतन्त्रमा सुधार गर्न सकिने बताए ।
सम्झौतापश्चात बोल्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानको आयआर्जन बढाउने उत्पादन बढाउने र आत्मनिर्भता बढाउने कार्यमा सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष पाठकले सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रममा विगतका वर्षहरूदेखि नै आफूहरूले साथ सहयोग गर्दै अगाडि बढेको भन्दै सम्झौताले सहकार्यको अर्को ढोका खोलेको बताए ।
पाठकले प्रधानमन्त्रीको समेत प्राथमिकतामा परेको डीडीसीलाई माथि उठाउन किसान तहबाटै सबैको साथ सहयोग आवश्यक रहेको बताए । उनले दूधमा देशलाई आत्मनिर्भर बनाउने बाटोमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
डीडीसीप्रतिको विगतको धारणा बदल्दै सुधारको सुरुवात भइसकेको प्रस्ट देखिसकिएको भन्दै अध्यक्ष पाठकले अब नयाँ पहलमा दुग्ध उत्पादक किसानहरू ढुक्क भएर अभियानमा जोडिन आग्रह गरे । पाठकले कहीँकतै कुनै कमी–कमजोरी भएको देखे तत्काल सुधारका लागि सुझाव दिन सबैलाइ अनुरोध गरे ।
सम्झौतापश्चात बोल्दै नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष एकराज उप्रेतीले डीडीसीसँग भएको सम्झौताले नेपाली दुग्ध उत्पादक किसानहरूका लागि ऐतिहासिक दिन भएको उल्लेख गरे । उनले सबै किसानहरूको जीवनमा आर्थिक रूपमा सबलता ल्याई मुहारमा खुसी थप्दै जान सम्झौताले सहयोग पुग्ने स्पष्ट पारे ।
अहिले केन्द्रीय संघको सञ्जालमा रहेका संस्थाहरूले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्दै आएको भन्दै उनले उत्पादनलाई बढाव दिँदै जाने विषयमा समेत सम्झौताले प्रेरणा थप्ने बताए । अहिले तत्कालका लागि १५ हजार लिमिटेड दूध डीडीसीलाई दिने सम्झौता भएको भन्दै अध्यक्ष उप्रेतीले दूध बेचेको पैसा समयमै प्राप्त गर्ने सुनिश्चितता हुने कुरामा आफू विश्वस्त रहेको बताए ।
सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक डा. रुद्रबहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी, दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सरन कुमार पाण्डेले हस्ताक्षर गरेका थिए ।
सम्झौता कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दिपाकर रुपाखेती, डीडीसीका उपमहाप्रबन्धक, कर्मचारी लगायतको सहभागिता थियो ।




प्रतिक्रिया