प्युठानमा ५ जनाको शव फेला, रोल्पाकाे पहिराेले बगाएर ल्याएकाे आशंका

प्युठानमा ५ जनाको शव फेला, रोल्पाकाे पहिराेले बगाएर ल्याएकाे आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्युठानको स्वर्गद्वारीमा विभिन्न स्थानमा ५ जनाको बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र वतन नखुलेका ५ जनाको शव फेला परेको हो।

स्वर्गद्वारी–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२–१३ वर्षका बालकको शव फेला परेको छ। त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव फेला परेको छ भने स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा दुई महिलाको शव फेला परेको छ। तीमध्ये एक महिलाको शवमा बायाँ खुट्टाको घुँडादेखिको भाग नरहेको प्रहरीले जनाएको छ।

फेला परेका शवहरूको हालसम्म पहिचान हुन सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान तथा शवहरूको पहिचान गर्ने कार्य जारी राखेको जनाएको छ। रोल्पाबाट बाढीले बगाएर शव प्यूठानसम्म ल्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

परिवारका कुनै सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।