किशोर श्रेष्ठलाई वकिल, पत्रकार र परिवारसँग भेट्न रोक

किशोर श्रेष्ठलाई वकिल, पत्रकार र परिवारसँग भेट्न रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू- प्रहरीले हिरासतमा रहेका पत्रकार किशोर श्रेष्ठलाई परिवारका सदस्य, कानून व्यवसायी र पत्रकार संघसंस्थाका प्रतिनिधिसँग भेट गर्न रोक लगाएको छ ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईसहित पत्रकार सम्वद्ध संघ संस्थाका प्रतिनिधि र उनकी पत्नी श्रेष्ठलाई भेट्न प्रहरी परिसर पुगेका थिए । तर, माथिको आदेश भन्दै आफूहरुलाई भेट्न नदिइएको भट्टराईले बताए । ‘कानून व्यवसायीको रुपमा मसहित केही वकिल साथीहरु, किशोरजीको श्रीमती र पत्रकार संघ संगठनका केही अगुवाहरु भेट्न गएका थियौं’, भट्टराईले काठमाण्डु पाटीसँग भने, ‘माथिको आदेश भन्दै भेट्न अनुमति नभएको बताइयो ।’

प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरको नख्खु क्षेत्रबाट पक्राउ गरेको थियो । बिहीबार ललितपुरको बखुण्डोलमा रहेको उनी प्रधान सम्पादक रहेको जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा मारेको छ । पत्रिकाको कार्यालयबाट कम्प्युटर र धोबीघाटस्थित निवासबाट ल्यापटप बरामद गरिएको छ । श्रेष्ठलाई पक्राउ गरिएको विरोधमा नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटीलगायत पत्रकार सम्वद्ध संघ संस्थाले आपत्ति जनाउँदै रिहाइको माग गरेका छन् । महासंघको अगुवाइमा पत्रकारहरुले बिहीबार भद्रकालीस्थित काठमाण्डु प्रहरी परिसर अगाडि प्रदर्शनका साथै धर्ना दिएका थिए ।