काठमाण्डु– स्वास्थ्य उपचारका सिलसिलामा करिब पाँच महिना सिंगापुर र हङकङमा बिताएर बिहीबार स्वदेश फर्किएका काँग्रेस निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलमा ‘क्यामेरा फेस’ गर्न चाहेनन् ।
प्रतिक्रियाका लागि अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा खचाखच भरिएका सञ्चारकर्मी देउवा नबोलेपछि केही निराश भए । तर, देउवा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै उनको सचिवालयबाट देउवाको नाममा सार्वजनिक अपिल जारी भयो ।
विमानस्थलमा नेता÷कार्यकर्ताले बाजागाजासहित स्वागत गरिरहेका बेला सञ्चार माध्यमलाई पठाइएको सन्देशमा देउवाले आगामी दिनमा सक्रिय राजनीतिमा पाइला नटेक्ने संकेत गरेका छन् । देउवाले भविष्यमा आफू शक्ति प्राप्त गर्ने उद्देश्यले स्वदेश नफर्किएको स्पष्टिकरण दिएका छन् ।
शक्ति आर्जन गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएँ
देउवाले आफू सत्ताको प्रतिस्पर्धामा सहभागी नभई राष्ट्रिय एकतालाई बलियो बनाउने उद्देश्यसहित स्वदेश फर्किएको उल्लेख गरेका छन् । ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ उनले अपिलमा भनेका छन् ।
उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातान्त्रिक शक्ति एक हुनुपर्ने समय आएको बताएको प्रसंग स्मरण गरेका छन् । अहिले पनि मुलुकमा परिस्थितिवश सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको उनले औंल्याए । पछिल्लो राजनीतिक परिस्थितिमा दलहरूबीचको दूरी घटाएर साझा राष्ट्रिय मुद्दामा सहकार्य गर्नुपर्ने सन्देश देउवाले दिए । मुलुकको राष्ट्रियता, लोकतन्त्र र राजनीतिक स्थायित्वका लागि सबै पक्षबीच सहमति आवश्यक रहेकामा जोड दिए ।
देउवाले आफ्नो स्वदेश फिर्तीलाई व्यक्तिगत राजनीतिक महत्वाकांक्षासँग जोडेर नहेर्न आग्रह गरेका छन् । आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रको नागरिकका रूपमा सेवा गर्न तयार भएर फर्किएको उनको भनाइ छ ।
‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु’, देउवाले अपिलमा भनेका छन्, ‘विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु ।’
उनले राजनीतिक विवाद र मतभेदलाई प्रतिशोधको बाटोबाट समाधान गर्न खोज्नुको सट्टा संवाद, मेलमिलाप र सहकार्यबाट निकास खोज्नुपर्ने बताएका छन् ।
कांग्रेसभित्रको निराशा अन्त्यमा जोड, एकता कायम गर्न अपिल
देउवाले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशाप्रति पनि चिन्ता व्यक्त गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ताको मनोबल खस्किएको अवस्थामा उनीहरूको भावना पुनः जोड्नुपर्ने समय आएको देउवाको भनाइ छ ।
कांग्रेस आफैं एकताबद्ध हुन नसके मुलुकको राजनीतिक नेतृत्वमा प्रभावकारी भूमिका निर्वाह गर्न कठिन हुने उनको सन्देश छ । पार्टीभित्रको आन्तरिक विवादलाई व्यवस्थापन गर्दै सबै नेता–कार्यकर्ताबीच विश्वासको वातावरण निर्माण गर्नुपर्ने देउवाको आग्रह छ ।
‘पार्टीका साथीहरू अहिले निराश भएको अवस्था छ । उनीहरूको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नुपर्ने समय आएको छ,’ उनले भनेका छन् ।
पार्टीभित्रको असहमति समाधान गर्ने जिम्मेवारी नेतृत्व र कार्यकर्ताको साझा भएको उल्लेख गर्दै उनले त्यसतर्फ गम्भीरतापूर्वक लाग्न सबैलाई अपिल गरेका छन् ।
दलीय सहमति र सहकार्यमा जोड
देउवाले कांग्रेसभित्र मात्र एकता भएर नपुग्ने भन्दै मुलुकमा क्रियाशील अन्य राजनीतिक शक्तिसँग पनि सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् ।
राष्ट्रियता र लोकतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दलबीच न्यूनतम समझदारी र सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।
‘नेपाली कांग्रेस आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आजको आवश्यकता हो,’ देउवाले भनेका छन् । संसदमा कांग्रेसको संख्यात्मक हैसियतमा सानो भए पनि मुलुकको राजनीतिक परिवर्तनमा पार्टीको ऐतिहासिक योगदानलाई बिर्सन नहुने देउवाको भनाइ छ ।
उनले २००७ सालदेखि मुलुकमा भएका राजनीतिक परिवर्तनका विभिन्न चरणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गरे ।
कांग्रेस कमजोर हुँदा राष्ट्रियता पनि कमजोर हुन्छ
देउवाले कांग्रेसलाई मुलुकको प्रमुख राजनीतिक शक्तिका रूपमा व्याख्या गर्दै पार्टीभित्रको विवादले राष्ट्रिय राजनीतिमा समेत असर पार्न सक्ने बताएका छन् ।
कांग्रेसभित्र आन्तरिक असमझदारी र विभाजन बढ्दा त्यसले राष्ट्रिय एकताको आधारलाई कमजोर बनाउन सक्ने चिन्ता उनको छ । उनले पार्टीलाई व्यक्तिगत स्वार्थ, गुटगत आग्रह वा अहंकारभन्दा माथि उठाएर सञ्चालन गर्नुपर्ने औंल्याए ।
‘नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,’ देउवाले भनेका छन् । उनले कांग्रेसको विगतलाई सम्मान गर्दै वर्तमान चुनौतीको सामना गर्न नयाँ ढंगको सहकार्य आवश्यक रहेको बताएका छन् ।
युवा अघि बढ, हाम्रो अनुभव उपयोग गर
देउवाले पार्टीमा पुस्तान्तरणको बहसलाई सकारात्मक रूपमा लिए पनि त्यसका नाममा अनुभवी पुस्तालाई पूर्ण रूपमा निषेध वा अस्वीकार गर्ने प्रवृत्तिप्रति असहमति जनाएका छन् ।
युवा पुस्ता राजनीतिमा अघि बढ्नु स्वाभाविक र आवश्यक भए पनि त्यसको अर्थ विगतमा योगदान गरेका सबै पाका तथा अनुभवी नेता खराब हुन् भन्ने भाष्य निर्माण गर्नु उचित नहुने तर्क देउवाले गरे ।
‘युवा साथीहरू अघि बढ्नुपर्छ तर, पाका र अनुभवीजति खराब हुन् भन्ने गलत भाष्य बनाउन हुन्न,’ उनले भनेका छन् ।
युवा र अनुभवी पुस्ताबीच सन्तुलन कायम गर्दै पार्टीलाई अघि बढाउनुपर्ने उनको सुझाव छ । नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभवलाई संयोजन गर्न सके कांग्रेस थप बलियो बन्न सक्ने देउवाको विश्वास छ ।
देउवाले आफ्नो लामो राजनीतिक जीवनबाट प्राप्त अनुभवलाई अब पार्टी र मुलुकको हितमा उपयोग गर्नुपर्ने बताएका छन् ।
आफूले राजनीतिक रूपमा अब व्यक्तिगत रूपमा लिनुपर्ने केही नरहेको उल्लेख गर्दै उनले आफ्नो अनुभव नयाँ पुस्तासँग बाँड्नु जिम्मेवारी भएको बताएका छन् ।
‘मैले राजनीतिक रूपमा लिनुपर्ने केही छैन । तर, मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नुपर्छ र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व पनि हो,’ उनले भनेका छन् ।
माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका विभिन्न जटिल राजनीतिक घटनाक्रम तथा कांग्रेसभित्र उत्पन्न विवाद समाधानसम्म आफूले भोगेका अनुभव नयाँ पुस्ताका लागि उपयोगी हुने उनले बताए ।
कांग्रेसभित्र विभिन्न समयमा देखिएका विवादमा सहमति र मिलाप गराउन आफूले खेलेको भूमिकालाई स्मरण गर्दै देउवाले आगामी दिनमा ती अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।




प्रतिक्रिया