काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५ कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गर्दै बेपत्ताको खोजी तथा प्रभावितको उद्धारमा प्रभावकारी रूपमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बुधबार राति गएको पहिरोमा परी ७ जना नागरिकको दु:खद निधन र ५ जना बेपत्ता भएको घटनाले पार्टीलाई मर्माहत बनाएको बताएका छन् ।
उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
पछिल्लो २४ घण्टामा रोल्पा लगायत देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण ठूलो क्षति भएको उल्लेख गर्दै रास्वपाले विपद् व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्थानीय नागरिकको प्रयासको प्रशंसा गरेको छ । यद्यपि विपद् आइसकेपछि मात्र राज्य संयन्त्र सक्रिय हुने प्रवृत्तिको अन्त्य गर्दै पूर्वतयारी र जोखिम न्यूनीकरणमा सरकारले विशेष ध्यान दिनुपर्नेमा पार्टीले जोड दिएको छ ।
रास्वपाले संघ, प्रदेश र स्थानीय तहका सरकारलाई विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन, जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र नि:शुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेको छ ।
लगातारको वर्षाका कारण देशभर जनजीवन, सडक सञ्जाल र बस्ती जोखिमपूर्ण बनेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन पनि रास्वपाले अपिल गरेको छ ।
विपद्को समयमा राज्य नागरिकको अभिभावक बनेर उभिनुपर्ने बताउँदै रास्वपाले प्रभावित क्षेत्रका नागरिकको साथमा रहने प्रतिबद्धता जनाएको छ । पार्टीको संयन्त्रलाई विपद्पूर्व तयारी तथा विपद्पछिको उद्धार र राहत कार्यमा राज्यका संयन्त्रलाई सहयोग गर्न २४ घण्टा तयार रहन महामन्त्री आचार्यले आग्रह गरेका छन् ।





प्रतिक्रिया