विश्वकप लिग–२ शृंखला : क्यानडासँग नेपाल पराजित

विश्वकप लिग–२ शृंखला : क्यानडासँग नेपाल पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत क्यानडासँग नेपाल २४ रनले पराजित भएको छ ।

शनिबार भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भयो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जीत दिलाउन सकेनन् । उनले शनिबार ११२ बलमा ४ चौकासहित ८७ रनको पारी खेले । दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले २१–२१, आसिफ शेखले २०, रोहितकुमार पौडेलले १८ र करण केसीले अविजित १७ रन जोडे ।

क्यानडाका लागि बलिङतर्फ सुखजिन्दर सिंहले ३, कलिम सना र शील पटेलले २–२ विकेट लिए । त्यसअघि अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनायो । उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र ४ छक्कासहित १०५ रनको पारी खेलेका हुन् । १ दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो पहिलो शतक हो ।

आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रन जोडे । नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले ४, कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए ।

यो हारपछि नेपाल विश्वकप लिग–२ तालिकाको सातौँ स्थानमा झरेको छ । शीर्ष ६ मा स्थान बनाउन नेपालले अब अन्तिम खेलमा ओमानविरुद्ध जित्नैपर्ने समीकरण बनेको छ । नेपाल र ओमानबिचको खेल सोमबार हुने तालिका छ ।