काठमाण्डु – राष्ट्रिय खेलकुद परिषद् (राखेप) १२५औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकेको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ गतेदेखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता सुर्खेतमा गर्ने निर्णय भएको राखेपका सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए । बैठकमा युवा तथा खेलकुद मन्त्री, सातै प्रदेशका सदस्य सचिवहरू र परिषद्का सदस्यहरूको उपस्थिति थियो ।
बैठकले प्रतियोगिताका लागि आवश्यक मापदण्ड तथा निर्देशिकाहरू समेत पारित गरेको छ । जापानमा आयोजना हुने १९औँ एसियाली खेलकुदका लागि खेलाडी र अफिसियल गरी कुल २१८ जनाको सहभागितालाई परिषद्ले अन्तिम सहमति दिएको छ ।
बैठकले खेलकुद क्षेत्रको प्रशासनिक सुधारका लागि कर्मचारी व्यवस्थापन, आन्तरिक स्रोतको विनियोजन र चालु आर्थिक वर्षको बजेट प्रमाणीकरणको निर्णय गरेको छ ।
नेपालमा पहिलोपटक ‘प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । प्रतियोगिता आगामी पुस १५ गतेदेखि सुरु हुने जानकारी दिए ।
बैठकमा अखिल नेपाल फूटबल संघ (एन्फा) मा देखिएको पछिल्लो विवाद र निलम्बनका विषयमा पनि छलफल भएको थियो । यस विषयमा परिषद्ले वस्तुस्थितिको जानकारी लिँदै निकासका लागि समन्वय र सहकार्य भइरहेको जनाएको छ ।
सरकार र परिषद्को तर्फबाट निकट भविष्यमै समस्याको उचित समाधान निकाल्ने गरी पहल भइरहेको प्रवक्ताले जानकारी दिए ।




प्रतिक्रिया