काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा जारी बैठकले देउवाले नेपाली कांग्रेसको इतिहास निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको सम्मान गर्दै पार्टीमा भएको वैधानिक परिवर्तनलाई संस्थागत गर्न उनले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।
बैठकले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारी, पत्रिकाको कार्यालयमा गरिएको खानतलासी तथा अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेसले सञ्चार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू दृढ रहेको उल्लेख गर्दै संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर पत्रकार पक्राउ गर्ने, कार्यालय खानतलासी गर्ने तथा हत्कडी लगाउने कार्य गलत र अवाञ्छित भएको जनाएको छ ।
कांग्रेसले घटनालाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने तथा नागरिकको सुसूचित हुने मौलिक अधिकार कुण्ठित गर्ने राज्यको नियतका रूपमा लिएको जनाएको छ । कानुनविपरीत कार्य भए प्रचलित कानुनअनुसार अनुसन्धान र कारबाही हुनुपर्ने भए पनि राज्य संयन्त्रले पूर्वाग्रह वा प्रतिशोधका आधारमा व्यवहार गर्न नहुनेमा कांग्रेसले जोड दिएको छ ।
बैठकले सार्वजनिक लेखा समितिमा सत्तारुढ दलका सांसदहरूबाट भएको भनिएको अमर्यादित तथा असंसदीय व्यवहारप्रति असहमति जनाएको छ । संसद् र संसदीय समितिहरूमा जनप्रतिनिधिले अनुशासित, शिष्ट र मर्यादित भाषा तथा व्यवहार प्रस्तुत गर्नुपर्ने कांग्रेसको धारणा छ ।
कांग्रेसले राजनीतिक संरक्षणका आधारमा कसैलाई उन्मुक्ति दिने वा पूर्वाग्रहका आधारमा कसैको चरित्रहत्या गर्ने दुवै प्रवृत्ति लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ । पार्टीले आफ्ना सांसदहरूलाई संसदीय मर्यादा कायम गर्दै सुशासन, पारदर्शिता, जनजीविका र अधिकारका विषयमा तथ्यमा आधारित र जिम्मेवार रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ ।
बैठकले रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबाडामा अविरल वर्षाका कारण गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको तथा केही अझै बेपत्ता रहेको घटनाप्रति दु:ख व्यक्त गरेको छ । कांग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विपत्तिमा परेका परिवारलाई उचित राहत तथा पुनर्वासको व्यवस्था गर्न, घाइतेको उपचार गर्न र बेपत्ताको खोजी कार्य तीव्र पार्न सरकारसँग आग्रह गरेको छ ।
बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । छलफल जारी रहेकाले केन्द्रीय कार्यसमितिको अर्को बैठक २०८३ साउन २९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ ।






प्रतिक्रिया