काठमाण्डु – अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ भने अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण माता मन्दिरमा तीन जना फसेका छन्।
सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा पर्ने नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिकै मोदीखोलामा आएको बाढीले मन्दिरसम्म आवतजावत गर्न प्रयोग हुने कास्की र पर्वततर्फका दुईवटा मेटल पुल बगाएको हो।
बाढीले मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरको आधा भागसमेत बगाएको छ। बाढीका कारण मन्दिरमा एक जना सन्तपुजारी र दुई जना भक्तजन गरी तीन जना फसेको खबर प्राप्त भएपछि उनीहरूको उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु र तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ।
यता त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । कालिखोला चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।
बाढी पूर्वानुमान महाशाखाले बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने स्थानका बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु पर्ने बताएको छ ।
यसैबीच, त्रिशूली नदी बेत्रावती नुवाकोट जलमापन केन्द्रहरूमा पनि जलसतहले सतर्कता तह पार गरेको छ । तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




प्रतिक्रिया