काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपाबिचको समीकरणअनुसार नयाँ सरकार बन्दै छ ।
प्रदेश प्रमुख नजिर मियाँले दिएको शुक्रबार ११ बजेको समयसीमाभित्रै नेकपाका संसदीय दलका नेता खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्। प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेर शुक्रबार नै भट्टलाईलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीको सपथ सँगै केही मन्त्रीलाई नियुक्त गरेर सानो मन्त्रिपरिषद् बनाउने तयारी गरिएको छ। नेकपा र एमालेबिच भएको सहमतिअनुसार नेकपाले चार तथा एमालेले तीन मन्त्रालय पाउने छन् ।
बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका थिए। राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख मियाँले शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका थिए।
यसअघि कांग्रेस र एमालेबिच रहेको गठबन्धन सरकारमा बजेटको विवाद उत्कर्षमा पुगेर टुटेको थियो। गत असार ३१ गते मुख्यमन्त्रीले एमालेका ४ मन्त्रीलाई बर्खास्त गरेका थिए। भने त्यही दिन एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
५३ सदस्यीय प्रदेश सभामा नेकपाका २२, कांग्रेसका १८, एमालेका ११ र राप्रपाका एक जना सदस्य छन्। उनीहरूमध्ये पूर्वमुख्यमन्त्री समेत रहेका नेकपाका दीर्घबहादुर सोडारी निलम्बित छन् भने कांग्रेसका प्रकाशबहादुर देउवा लामो समयदेखि अमेरिकामा छन्।
डडेल्धुराबाट स्वतन्त्रबाट निर्वाचित डा. तारा जोशीले राजीनामा दिएकाले एक सिट रिक्त रहेको छ। प्रदेश सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ। नेकपा र एमालेसँग अहिले ३२ जना (निलम्बित बाहेक) सांसद रहेकाले सुविधाजनक बहुमत रहेको छ।




प्रतिक्रिया