काठमाण्डु–साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ ।
पछिल्ला तीन कारोबार दिन सामान्य बढेको बजार शुक्रबार ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा झरेको हो ।
नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार ३४४ स्टकको ४३ हजार ६० पटकको कारोबारबाट ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन ९७ लाख ५४ हजार कित्ता सेयर किनबेच भएको छ ।
शुक्रबार १६४ कम्पनीको सेयर मूल्य घट्दा १०१ कम्पनीको मूल्य बढेको छ । १२ कम्पनीको मूल्य भने स्थिर रह्यो । सेन्सेटिभ इन्डेक्स ०.१३ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.४० र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१९ अंकले घटेका छन् ।
माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र विकास हाइड्रोपावरको सेयर मूल्य पनि करिब ७ प्रतिशतले बढेको छ ।
यता सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य १२.८३ प्रतिशतले घटेको छ । शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये यही सबैभन्दा ठूलो गिरावट हो ।
कारोबार रकमका आधारमा एग्रीकल्चरल बन्ड (९ वर्षे) सबैभन्दा अगाडि रहेको छ । उक्त बन्डको ७० करोड ८७ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
खानी खोला हाइड्रोपावरको करिब १८ करोड र लिबर्टी इनर्जीको साढे १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये चारवटाको परिसूचक बढेको छ भने नौवटा घटेका छन् । जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड र अन्य उपसमूह बढेका छन् । व्यापार उपसमूह सबैभन्दा धेरै २.५७ प्रतिशतले घटेको छ ।




प्रतिक्रिया