काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो एक वर्षभित्र देशका १ करोड युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप तालिम प्रदान गरिने घोषणा गरेका छन्।
चिप, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डेटा सेन्टरका लागि आवश्यक ऊर्जा सुरक्षा सुनिश्चित गर्न आणविक ऊर्जासम्बन्धी शान्ति विधेयक पारित गरी आत्मनिर्भरतातर्फ कदम चालिएको मोदीले सम्बोधनमा बताए ।
भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीस्थित लाल किलाबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ‘विकसित भारत’को संकल्प पूरा गर्न युवा शक्तिको भूमिका निर्णायक हुने बताए।
सम्बोधनका क्रममा उनले देशलाई तीव्र गतिमा अघि बढाउने सबै प्रयासहरूका पछाडि युवाहरू नै मुख्य प्रेरक शक्ति रहेको उल्लेख गरे।
विश्वभर प्रविधिको क्षेत्रमा भइरहेको द्रुत विकासलाई ध्यानमा राख्दै प्रधानमन्त्री मोदीले भने, ‘हामीले संकल्प लिएका छौँ कि आउँदो एक वर्षभित्र १ करोड युवाहरूलाई एआई सीप तालिम दिनेछौँ, ताकि हाम्रा देशका युवाहरूमा एआईको क्षेत्रमा पनि विश्वलाई नेतृत्व गर्न सक्ने क्षमता निर्माण होस्।’
लालकलिाबाट लगातार १३औँ पटक राष्ट्रलाई सम्बोधन गर्नुअघि उनले जल, थल, वायु सेना र दिल्ली पुलिसका जवान सम्मिलित गार्ड अफ अनरको सलामी लिएका थिए।
राष्ट्रिय ध्वजारोहणका क्रममा स्वदेशी १०५ एमएम लाइट फिल्ड गनबाट २१ तोपको सलामी दिइएको थियो। लालकिल्ला पुग्नुअघि उनले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
प्रधानमन्त्रीले विगत १२ वर्षका उपलब्धि प्रस्तुत गर्दै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यका साथ सरकारको दीर्घकालीन दृष्टिकोण सार्वजनिक गरे।
उनले उत्पादन क्षेत्र, कपडा उद्योग, रक्षा, रेलवे, कनेक्टिभिटी, औषधि उद्योग र स्टार्टअपसम्मका सफलताको समीक्षा गरे । साथै कोरोना महामारीको सङ्कट तथा पछिल्ला युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटका बिच सरकारले लिएका नीतिको प्रशंसा पनि उनले गरे ।
मोदीले विधानसभा र लोकसभामा महिलाका लागि ३३ प्रतिशत आरक्षण लागू गर्न सबै राजनीतिक दललाई आह्वान गर्दै विकसित भारत निर्माणका लागि शक्तिको सप्तधाराको खाका पेस गरे।
विगत १२ वर्षमा देशवासीको सङ्कल्पका कारण २५ करोड नागरिक गरिबीबाट बाहिर निस्कन सफल भएको दाबी मोदीको छ ।
सन् २०१४ सम्म विश्वले भारतलाई कमजोर अर्थतन्त्रको सूचीमा राखेको भए पनि पछिल्लो एक दशकमा देशले तीव्र आर्थिक गति लिएको उनले बताए।




प्रतिक्रिया