काठमाण्डु – ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षण गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले द्रूत प्रतिकार्य टोली गठन गरेको छ ।
प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकत्वमा टोली गठन गरिएको हो ।
टोलीमा रेग्मीसहित नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, उद्योग वाणिज्य संघ तनहुँका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् भने एकीकृत सेवा कार्यालय तनहुँका अधिकृत प्रतिनिधि सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।
टोलीले ग्यास वितरणसम्बन्धी व्यवस्थाको नियमित छड्के अनुगमन तथा गुनासोका आधारमा लक्षित क्षेत्रमा निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवलाल तिवारीले बताए ।
अनुगमनका क्रममा गम्भीर लापरबाही वा कानून उल्लंघन गरेको भेटिएमा प्रचलित कानूनअनुसार ग्यास भण्डारणस्थल सिल गर्ने, बढी मौज्दात फिर्ता गर्न लगाउने, दर्ता पुस्तिका तथा अभिलेख जाँच गर्ने र जरिवाना समेत गरिने उनले जानकारी दिए ।
ग्यासको वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था समेत लागू गरेको छ । प्रशासनले १ परिवारलाई १ पटकमा १ सिलिण्डर मात्रै ग्यास वितरण गर्नुपर्ने व्यवस्था लागू गर्दै डिलरदेखि खुद्रा विक्रेतासम्मको कारोबारमा कडाइ गरेको छ ।




प्रतिक्रिया