आवेगमा आएर नेमप्लेट राख्नु खेलको नियमबाहिर हो, सभापति गगन नै हो : उपसभापति शर्मा

आवेगमा आएर नेमप्लेट राख्नु खेलको नियमबाहिर हो, सभापति गगन नै हो : उपसभापति शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमल नरहेको प्रस्टीकरण दिएका छन् ।

दोस्रो झापा–१ काठमाण्डु कप फूटसल प्रतियोगिता २०८३ मा शनिबार सहभागी हुन पुगेका शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही ठहर गरेको अवस्थामा यसबारे अन्योलमा पर्नुपर्ने अवस्था नरहेको बताए ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएका र सर्वोच्च अदालतले बदर नगरेको उनले बताए । ‘नेपाली कांग्रेसको सभापति को हो भनेर अल्मलिनुपर्ने अवस्था छैन,’ उनले भने, ‘आवेगमा आएर यता नेमप्लेट राख्ने, उता नेमप्लेट राख्ने, उहाँ पनि सभापति हो, उहाँ पनि कार्यसमिति हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा खेलको नियम र विधिभन्दा बाहिरको कुरा हो ।’

खेलको मैदानमा नियम उल्लंघन हुँदा पहेँलो र रातो कार्ड देखाइने उदाहरण दिँदै उनले राजनीतिमा पनि विधि र नियमको पालना हुनुपर्ने बताए । ‘खेलको मैदानमा जब कसैले गल्ती गर्छ, पहेँलो कार्ड देखाइन्छ । फेरि गल्ती गर्‍यो भने रातो कार्ड देखाइन्छ । खेलमा एउटा विधि हुन्छ,’ उपसभापति शर्माले भने, ‘नेपाली कांग्रेसको पनि एउटा विधि छ । जसमा महाधिवेशन भयो । विशेष महाधिवेशन पालना गरेर सभापति गगन थापा हुनुभयो ।’