काठमाण्डु – उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमको समन्वयमा आईतबार काठमाण्डु उपत्यकाका विभिन्न ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री तथा वितरण गरिने भएको छ ।
नेपाल आयल निगमका अनुसार सार्वजनिक गरेको सूचनाअनुसार आम उपभोक्तालाई लक्षित गर्दै उपत्यकाका ७ स्थानमा ग्यास उद्योगहरूले सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाइएको हो ।
ग्यासको आवश्यकता अत्यावश्यक रहेका उपभोक्तालाई लक्षित गरी बिक्री वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ । निगमका अनुसार भोलि आईतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नेपाल आयल निगमको कार्यालय परिसर टेकु, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा खाना पकाउने ग्यास बिक्री वितरण हुनेछ ।
निगमले सार्वजनिक गरेको सूचनामा प्रत्येक बिक्री केन्द्रमा उपलब्ध हुने ग्यास कम्पनीको नामसमेत उल्लेख गरिएको छ ।
नेपाल आयल निगमले ग्यास किन्न जाने उपभोक्तालाई नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको छ । ग्यास अत्यावश्यक परेका व्यक्तिले मात्र बिक्री केन्द्रमा उपस्थित भएर सिलिन्डर खरिद गर्न निगमले अनुरोध गरेको छ ।
ग्यासको वास्तविक आवश्यकता भएका उपभोक्तालाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउने र अनावश्यक भीड तथा दोहोरो खरिदलाई नियन्त्रण गर्ने उद्देश्य रहेको जनाइएको छ ।




प्रतिक्रिया