काठमाण्डु – जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा एक जनाको मृत्यु भने तीन जना सम्पर्कविहीन भएका छन्। पहिरोमा परी ९ जना घाइते भएका छन्।
मृत्यु हुनेमा भेरी नगरपालिका–२ बस्ने करिब ५२ वर्षीय केदार कार्की छन्।
अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङस्थित विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोका कारण घरहरू भत्किएको तथा जोखिममा परेको जानकारी पाएपछि उद्धारका लागि ५० जनाको टोली परिचालन गरिएको छ।
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ५० जनाको टोली खटिएको हो।
पहिरोका कारण भेरी नगरपालिका–३ स्याला बस्ने पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा(माटोले बनेको कच्ची घर पूर्ण रूपमा
क्षति भएको छ। घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा बसेका छन्। सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन्। ती टहरामा हाल मानिस बसोबास नगर्ने जनाइएको छ।
पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुला बस्ने करिब ५४ वर्षीय उमासिंह खत्री, सोही नगरपालिका–२ चिसापानी बस्ने करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ बस्ने करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ।
रोल्पामा एकजनाको मृत्यु
रोल्पाको लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
निरन्तरको वर्षासँगै आइतबार बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।
आइतबार बिहान करिब ३ बजेतिर गुरुङ आफ्नै घरमा सुतिरहेको अवस्थामा एक्कासी घरमाथिबाट पहिरो गई घर पुरिँदा च्यापिएर मृत्यु भएको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया