ओलीको चेतावनी-पार्टीमा भए अनुशासनमा बस्नुस, नत्र बाटो लागे हुन्छ

ओलीको चेतावनी-पार्टीमा भए अनुशासनमा बस्नुस, नत्र बाटो लागे हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाएका छन् ।

पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिँदै उनले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियान अराजकताको पराकाष्ठा भएको संज्ञा दिए ।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै भने, चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद हो ।’

पार्टीको एउटा विधि र विधान हुने भन्दै उनले महाधिवेशनबाट चुनिएको नेतृत्वलाई चिया पसलमा बसेर हटाउँछु भन्नु अराजकता भएको उल्लेख गरे ।

पार्टीमाथि वाह्य शक्ति र विरोधीहरूले तीव्र प्रहार गरिरहेको समयमा सिंगो पंक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै ओलीले आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने जिकिर गरे । अध्यक्ष ओलीले अब बस्ने केन्दीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ अगाडि बढाइने स्पष्ट पार्दै सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने र अराजकता फैलाउने कार्य रोक्न आग्रह र पार्टीमा बस्ने भए अनुशासन पालना गर्न निर्देशन दिए ।

अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई कुनैपनि भ्रममा नपरी पार्टीको उद्देश्यप्रति दृढ विश्वासका साथ अगाडि बढ्न आग्रहसमेत गरे ।

अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको दाबी गरे ।

अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गरेका हुन् ।

नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षतासमेत नभएको टिप्पणी गर्दै उनले अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यहीमात्र गरिरहेको बताए ।

ओलीले वर्तमान सरकार भवितव्यबाट बनेको टिप्पणी गरेका छन् ।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको गठन प्रक्रिया र कार्यशैलीमाथि प्रश्न गरे ।

उनले सरकार गठनको प्रसङ्गलाई एक बालकले क्यारमबोर्ड खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गरे । ‘मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको हो’, ओलीले भने, ‘वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको छ ।’