काठमाण्डु– पूर्व तृणमूल कंग्रेस (टीएमसी)का पूर्व विधायक तथा पूर्व उपसभामुख आशीष बनर्जी आइतबार बिहान रहस्यमय अवस्थामा मृत फेला परेका छन्।
उनको शव आफ्नै निवाससँगै रहेको पार्टी कार्यालयभित्र झुन्डिएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट प्रहरीले सुसाइड नोटसमेत बरामद गरेको छ। आशीषको शव पोस्टमार्टमका लागि पठाइएको छ।
ममता बनर्जीको मुख्यमन्त्री कार्यकालमा आशीष पश्चिम बंगाल विधानसभाका उपसभामुख बनेका थिए। उनी रामपुरहाटबाट पाँचपटक विधायक निर्वाचित भएका थिए। तर, सन् २०२६ को विधानसभा निर्वाचनमा उनी भाजपा उम्मेदवार ध्रुब साहासँग पराजित भएका थिए।
बिरभूमका प्रहरी अधीक्षक विदित राज भुन्डेशले‘प्रारम्भिक रूपमा यो आत्महत्याको घटना देखिन्छ। हामीले एउटा सुसाइड नोट फेला पारेका छौँ, जसमा ‘मेरो मृत्युका लागि कोही जिम्मेवार छैन’ भनेर लेखिएको ‘द इन्डियन एक्सप्रेस’सँग बताएका छन् ।
आशीष रामपुरहाटको वडा नम्बर ५ स्थित हत्तालापारामा बस्दै आएका थिए। उनको घरसँगै पार्टी कार्यालयसमेत रहेको थियो। आइतबार बिहान त्यहीँबाट उनको शव फेला परेपछि घटनास्थलमा ठूलो भीड जम्मा भएको थियो। रामपुरहाट प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिएको थियो।
टीएमसीका अनुभवी नेता आशीष सन् २००१ देखि २०२६ सम्म रामपुरहाटका विधायक थिए। तृणमूल कांग्रेस पश्चिम बंगालमा सत्तामा आएपछि उनले ममता बनर्जीको मन्त्रिपरिषद्मा पटक–पटक जिम्मेवारी पाएका थिए। उनले राज्यको विद्यालय शिक्षा मन्त्री र कृषि मन्त्रीका रूपमा समेत काम गरेका थिए। यद्यपि, मन्त्रिपरिषद्मा उनले यीभन्दा माथिल्लो तहको जिम्मेवारी भने पाउन सकेनन्।
अनुब्रत मण्डल बिरभूम जिल्ला टीएमसी अध्यक्ष हुँदा आशीष उनका निकट सहयोगीका रूपमा रहेका थिए। तर, जिल्लाको राजनीतिमा अनुब्रतको प्रभावका कारण आशीषले थप राजनीतिक उचाइ हासिल गर्ने अवसर सीमित रहेको बताइन्छ।




प्रतिक्रिया