काठमाण्डु– नेपाली कांग्रेसको संस्थापन इतर समूहको ३ दिने राष्ट्रिय भेला ५ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। डा. शशांक कोइरालाको संयोजक्तवमा शुक्रबारबाट सुरु भएको भेला ५ प्रस्ताव पारित गर्दै आज समापन भएको हो ।
निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनदेखि धर्म तथा संस्कृतिसम्मका विषय समेटेर प्रस्ताव पारित गरेको छ ।
भेलाले कांग्रेसको १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ। त्यस्तै, महाधिवेशनसम्म पार्टीका नियमित कामकारबाही देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजकले समन्वय गर्दै अघि बढाउने प्रस्ताव पनि पारित गरिएको छ। १५ औं महाधिवेशन तयारीको जिम्मा पूर्वमहामन्त्री डा.शशांक कोइरालालाई दिएको छ ।
गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापतिमा चयन भएका थिए। उक्त निर्णयविरुद्ध संस्थापन इतर समूहले पुनरावेदन दिएको छ। सर्वोच्च अदालतले समेत मुद्दामा पुनः सुनुवाइ गर्न आदेश दिइसकेको छ।
राष्ट्रिय भेलाले पार्टी नेतृत्व, महाधिवेशन तथा धर्म–संस्कृतिसहितका विषयमा समूहको धारणा स्पष्ट पार्दै आगामी राजनीतिक तथा सांगठनिक गतिविधि अघि बढाउने निर्णय गरेको छ।
यस्ता छन् ५ बुँदे प्रस्ताव :
१) १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।
२) २०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो । आज पनि देश अप्ठेरो स्थितिमा छ यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसंग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने ।
३) नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।
४) वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसंग सम्वाद गरि निकाश दिइने छ ।
५) २०८३ श्रावण २० र २१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन. पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपक प्रसाद कुइकेल रहनु हुनेछ ।




प्रतिक्रिया