देउवा नै सभापति रहेको कांग्रेस इतर समूहको घोषणा

देउवा नै सभापति रहेको कांग्रेस इतर समूहको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आगामी महाधिवेशन निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको छ ।

आइतबार सम्पन्न राष्ट्रिय सम्मेलनले देउवालाई सभापति स्वीकार गर्दै १५औँ महाधिवेशन उनकै नेतृत्वमा सम्पन्न गर्नेसहित ५ बुँदे प्रस्ताव पारित गरेको हो ।

सम्मेलनले गत माघमा भएको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा सभापति रहेको कार्यसमितिलाई अस्वीकार गरेको छ ।

सम्मेलनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन गर्ने तथा त्यसबेलासम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजक डाा. शशांक कोइरालाले संयोजन गर्ने निर्णय गरेको छ ।

विशेष महाधिवेशनविरुद्ध देउवा समूहले सर्वोच्च अदालतमा दिएको पुनरावेदनमा निर्णय आउन बाँकी छ । सर्वोच्चले त्यस विषयमा पुनः सुनुवाइको आदेश गरिसकेको छ ।

सम्मेलनले राष्ट्रिय राजनीति, संविधान संशोधन र धर्म–संस्कृतिको विषयलाई पनि आफ्नो राजनीतिक एजेन्डामा समेटेको छ ।

राष्ट्रिय संकटका बेला बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भन्दै सम्मेलनले लोकतान्त्रिक तथा राष्ट्रिय शक्तिसँग संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपालको सनातनदेखि कायम धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने प्रतिबद्धता पनि सम्मेलनको छ ।
हिन्दु, बौद्ध, किरात र प्रकृतिपूजक धर्मको संरक्षण गर्दै धार्मिक स्वतन्त्रता, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्ने प्रस्तावमा उल्लेख छ ।

संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न सम्बन्धित पक्षसँग संवाद गर्ने निर्णयसमेत भेलाले गरेको छ ।

सम्मेलनले पारित प्रस्तावलाई अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिमा उमाकान्त चौधरी, सीता राना, मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल छन् ।

यस्तो छ सम्मेलनले पारित गरेको ५ बुँदे प्रस्ताव

१. १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।
२. २०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो । आज पनि देश अप्ठेरो स्थितिमा छ यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसंग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने ।

३.नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।

४. वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसंग सम्वाद गरि निकाश दिइने छ ।

५. २०८३ श्रावण २० र २१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन. पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइकेल रहनु हुनेछ ।