रुसको मिसाइल इन्धन उत्पादन केन्द्रमा युक्रेनकाे आक्रमण, निजी घरमा ड्रोन खस्दा एक वृद्धको मृत्यु

रुसको मिसाइल इन्धन उत्पादन केन्द्रमा युक्रेनकाे आक्रमण, निजी घरमा ड्रोन खस्दा एक वृद्धको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– युक्रेनी सेनाले रुसमा रहेको मिसाइल इन्धन उत्पादन गर्ने एउटा केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ।

युक्रेनी सशस्त्र सेनाको जनरल स्टाफले टेलिग्राममा पोस्ट गर्दै पश्चिमी रुसको रोस्तोभ क्षेत्रमा रहेको कामेन्स्की प्लान्टमा आक्रमण गरिएको जनाएको हो।

जनरल स्टाफले उक्त प्लान्टलाई ‘महत्त्वपूर्ण रुसी सैन्य–औद्योगिक केन्द्र’ भन्दै रुसी सशस्त्र बलको आवश्यकताका लागि प्रत्यक्ष रूपमा प्रयोग हुँदै आएको दाबी गरेको बीबीसीले जनाएकाे छ । आक्रमणबारे रुसी अधिकारीहरूले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

युक्रेनले शनिबार राति रुसका विभिन्न स्थानमा उच्च मूल्यका सैन्य लक्ष्य माथि आक्रमण गरेको जनाएको थियो।

युक्रेनले गरेको भनिएको ड्रोन आक्रमणपछि मस्कोबाट करिब २५ किलोमिटर टाढा रहेको कोलेदीनोस्थित अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजको गोदामबाट धुवाँको मुस्लो देखिएको तस्बिरहरू सार्वजनिक भएका छन्।

युक्रेनले वाइल्डबेरीजका गोदामहरू सैन्य उपकरणका लागि लजिस्टिक केन्द्रका रूपमा प्रयोग भइरहेको दाबी गरेको छ। तर क्रेमलिनले उक्त दाबी अस्वीकार गर्दै आएको छ।

मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार ड्रोन एउटा निजी घरको परिसरमा खसेपछि रामेन्स्की जिल्लामा ८३ वर्षीय एक वृद्धको मृत्यु भएको छ। घटनामा केही मानिस घाइते भएको र आक्रमणबाट भएको क्षतिको व्यवस्थापनका लागि आपत्कालीन सेवाका टोली परिचालन गरिएको उनले बताएका छन्।

‘रुसको अमेजन’ भनेर समेत चिनिने वाइल्डबेरीज रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा व्यापार कम्पनी हो।