काठमाण्डु – भारतीय प्रधानसेनापति जनरल धीरज सेठले नेपाल भ्रमणका लागि काठमाण्डु पुगेका छन् ।
नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा उनी आईतबार नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।
नेपाल भ्रमणको क्रममा भारतीय सेनापति सेठले मंगलबार रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
उनले प्रधानसेनापति सिग्देल लगायत उच्च सैन्य अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् । प्रधानसेनापतिमा नियुक्त भएपछि सेठको नेपालबाट पहिलो विदेश भ्रमण हो । सोमबार जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबिच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।
२०२६ जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आएका हुन् । नेपाल र भारतका सेना प्रमुखहरूलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्जा दिने लामो समयदेखिको परम्परा रहिआएको छ । सोही परम्पराअनुसार यसअघि सन् २०२४ डिसेम्बरमा प्रधानसेनापति अशोक सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय सेनाको मानार्थ जनरलको उपाधि प्रदान गरेकी थिइन् ।




प्रतिक्रिया