काठमाण्डु – भारतका सेनापति जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ ।
नेपालको चार दिने भ्रमणमा आइतबार दिउँसो नेपाल आएका भारतीय सेनापति सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवास भवन शीतल निवासमा आयोजना हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन् ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेठ नेपाल आएका हुन् । पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छिन्।
सन् १९५० देखि नै नेपाल र भारतका सेनाबिच मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन छ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन्। गत मङ्सिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहबिच भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई उक्त मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।
दुवै देशका प्रधानसेनापति नियुक्त भएपछि एक अर्काको देशमा भ्रमण गर्ने चलन पनि रहिआएको छ। मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ।




प्रतिक्रिया