काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यम तथा डिजिटल प्लेटफर्ममार्फत वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीलाई अनिवार्य रूपमा सूचीकृत भएर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयको विद्युतीय व्यापार, विज्ञान तथा सूचना प्रविधि शाखाले जारी गरेको सूचनामा विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ र ई–कमर्स निर्देशिका, २०८२ कार्यान्वयनमा आइसकेकाले कानुनी प्रक्रिया पूरा गर्न व्यवसायीलाई आग्रह गरिएको हो।
ऐनअनुसार वेबसाइट, मोबाइल एप, सफ्टवेयर, इन्टरनेट, सामाजिक सञ्जालका मार्केटप्लेसलगायत विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने व्यवसाय ई–कमर्सअन्तर्गत पर्छ।
त्यस्ता व्यवसायीले कारोबार सुरु गर्नुअघि विद्युतीय प्लेटफर्म स्थापना गरी सम्बन्धित विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकरण हुनुपर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले भनेको छ ‘पछिल्लो समय विभिन्न विद्युतीय माध्यम तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु तथा सेवा बिक्री–वितरण गर्ने गुनासो बढिरहेकाले विद्युतीय माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गर्ने सबै व्यवसायी तथा सरोकारवालालाई तोकिएको प्रक्रिया पूरा गरी विभागमा सूचीकृत हुन र प्रचलित कानुनको पूर्ण पालना गरेर मात्र कारोबार गर्न अनुरोध गरिन्छ ।’
सूचीकरण नगरी वा गैरकानुनी विद्युतीय प्लेटफर्ममार्फत व्यवसाय सञ्चालन गरेको पाइएमा विद्युतीय व्यापार ऐन, २०८१ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।





प्रतिक्रिया