स्वास्थ्य बीमा हटाउँदा गरिब नागरिक उपचार सेवाबाट बञ्चित भएः रास्वपा सांसद् न्यौपाने

स्वास्थ्य बीमा हटाउँदा गरिब नागरिक उपचार सेवाबाट बञ्चित भएः रास्वपा सांसद् न्यौपाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रञ्जु दर्शना न्यौपानेले सुरकारले स्वास्थ्य बीमा कार्यक्रम रोकेका कारण गरिब जनता उपचार सेवाबाटै बञ्चित हुने अवस्था आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै न्यौपानेले स्वास्थ्य बीमामा आबद्ध नागरिकले सहज रूपमा सेवा पाउने अवस्था बनाउन सरकारसँग आग्रह गरिन् । कार्यक्रमलाई प्रभावकारी बनाएर नागरिकलाई उपचारका क्रममा अनावश्यक झन्झट नहुने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

उनले थापाथलीस्थित परोपकार प्रसूति गृहको पछाडि फोहोर प्रशोधन केन्द्र निर्माण भइरहेको विषय पनि सदनमा उठाइन् । अस्पतालजस्तो संवेदनशील स्वास्थ्य संस्थाको नजिक फोहोर प्रशोधन केन्द्र स्थापना गर्दा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै उनले उक्त निर्माणप्रति आपत्ति जनाइन् ।

आफ्नो निर्वाचन क्षेत्र काठमाण्डु–१ अन्तर्गत पर्ने उक्त क्षेत्रमा स्थानीय बासिन्दालाई पर्याप्त सूचना नदिई तथा बाटोसमेत प्रभावित हुने गरी निर्माण अघि बढाइएको उनको भनाइ थियो ।

स्थानीयले समेत विरोध गरिरहेको उल्लेख गर्दै न्यौपानेले निर्माण प्रक्रिया रोक्न वा वैकल्पिक स्थानबारे विचार गर्न सरकारसँग आग्रह गरिन् ।

उनले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका नागरिकको समस्यालाई पनि प्रतिनिधिसभामा उठाइन् ।

गत भदौ २४ गते राष्ट्र बैंकबाट सुन लुटिएको भनिएको घटनापछि पीडितले न सुन फिर्ता पाएको र न बजार मूल्यअनुसार क्षतिपूर्ति नै पाएको उनले बताइन् ।

पीडितको सम्पत्ति संरक्षण र उनीहरूले पाउनुपर्ने क्षतिपूर्तिको विषय तत्काल टुंग्याउन सरकारसँग माग गरिन् ।