सरकारले गुण्डाराज चलाएको एमाले सांसदको आरोप, गोली खान तयार रहेको चेतावनी

सरकारले गुण्डाराज चलाएको एमाले सांसदको आरोप, गोली खान तयार रहेको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमाले सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत गतिविधिविरुद्ध प्रतिपक्षले निरन्तर खबरदारी गर्ने बताउँदै धम्की र दबाबका भरमा आफूहरूलाई चुप लगाउन सकिन्छ भन्ने नठान्न सत्ता पक्षलाई चेतावनी दिएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको आलोचना गर्नु प्रतिपक्षको धर्म र जिम्मेवारी भएको बताइन् । सरकारका गतिविधिमाथि प्रश्न उठाउनेलाई सरकारी पक्षबाट धम्की दिने गरिएको आरोप उनले लगाइन् ।
सरकारको संरक्षणमा गुण्डाराज चलिरहेको आरोप उनले लगाइन् ।
सरकारको कामकारबाहीप्रति प्रश्न उठाउने प्रतिपक्षलाई दोषी देखाउनेभन्दा यस्ता गतिविधिको नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।

सत्तापक्षबाट एकातिर धम्की दिने र अर्कोतिर समस्या समाधान गर्ने पक्षका रूपमा प्रस्तुत हुने शैलीप्रति पनि उनले आपत्ति जनाइन् । राजनीतिक असहमति र आलोचनालाई धम्कीबाट दबाउन खोज्नु स्वीकार्य नहुने उनको भनाइ थियो ।

प्रतिपक्ष देश र जनताको पक्षमा उभिने दाबी गर्दै खातुनले सरकारका गलत कामलाई देख्दादेख्दै मौन बसेर समर्थन गर्न नसकिने स्पष्ट गरिन् ।

‘एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफै मलम लगाउन तयार भएको अभिनय गर्ने कार्य स्वीकार्य छैन । हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौँ’, उनले भनिन्, ‘तर, सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौँ ।’

उनले सिराहामा प्रहरीले गोली चलाएको घटनाबारे पनि सरकारसँग जवाफ मागिन् । घटनाको कारण, प्रहरीको कारबाही र त्यसमा सरकारको जवाफदेहिताबारे स्पष्ट पार्न उनले माग गरेकी छन् ।