रेडक्रसको जग्गा खरिदमा अनियमितता गरेको आरोपमा ५ जना पक्राउ

रेडक्रसको जग्गा खरिदमा अनियमितता गरेको आरोपमा ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदनहरूको अध्ययनका क्रममा जग्गा खरिद प्रक्रियामा अनियमितता भएको पाइएपछि भक्तपुर जिल्ला अदालतबाट पक्राउ गरी अनुसन्धान गर्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।

रेडक्रस सोसाइटीका लागि गोदामघर सञ्चालन गर्न भक्तपुरको तत्कालीन भक्तपुर नगरपालिका–४(क) अन्तर्गतका विभिन्न कित्ता नम्बरको ५–१३–३–० क्षेत्रफलको जग्गा खरिद गर्दा बोलपत्रमा उल्लेखित शर्तविपरीत मध्यस्थकर्ता अर्थात् बिचौलियामार्फत खरिद गरिएको थियो । जग्गाका लागि ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरिएको थियो ।

रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ मध्यस्थकर्ताले लिएको आरोप छ । नापी कार्यालय भक्तपुरबाट जग्गाको क्षेत्रफल यकिन गराउँदा फिल्डमा ५–६–२–१ मात्र क्षेत्रफल रहेको पाइएको विवरणमा उल्लेख छ ।

रेडक्रसको मानवीय सेवाको उद्देश्य र संस्थागत मूल्यविपरीत पदाधिकारी तथा कर्मचारीहरूले संस्थालाई हानि–नोक्सानी पुर्‍याई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जनाइएको छ ।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ निकोसेरा निवासी ५२ वर्षीय राजेश देशमरु, नुवाकोट समुन्द्रटार–६ स्थायी ठेगाना भई काठमाण्डु–२६ मा बस्दै आएका ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ का ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुरको कटारी–३ स्थायी ठेगाना भई हाल मध्यपुर थिमी–१ बस्ने ७० वर्षीय सञ्जीव थापा र काठमाण्डु महानगरपालिका–१६ बालाजु निवासी ६७ वर्षीय इन्द्रबहादुर केसी रहेका छन् ।

उनीहरू विरुद्धको आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।