काठमाण्डु– राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान होर्मुज जलडमरूमध्यलाई अमेरिकी भूभागका रूपमा देखाइएको एउटा नक्सा सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यो कदम उनले उक्त जलमार्गलाई अमेरिकामा गाभ्ने आफ्नो आह्वानलाई थप जोड दिन खोजेको संकेतका रूपमा हेरिएको छ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट गरेको उक्त नक्सामा होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी भूभाग’ भनेर उल्लेख गरिएको छ।
विश्वमा प्रवाह हुने कुल तेलमध्ये करिब २० प्रतिशत तेल होर्मुज जलडमरूमार्ग हुँदै जाने गर्छ। यो जलडमरूमध्य इरान र ओमानको क्षेत्रीय जलक्षेत्रमा पर्छ।
ट्रम्पले गत शुक्रबार चुनावी शैलीको एक कार्यक्रममा पहिलोपटक होर्मुज जलडमरूमध्यलाई अमेरिकामा गाभ्ने विचार सार्वजनिक गरेका थिए। उनले त्यतिबेला आफूले उक्त जलमार्गलाई ‘छिट्टै अमेरिकी भूभाग घोषणा गर्ने’ बताएका थिए।
सोमबार ओभल अफिसमा पत्रकारहरूले उक्त भनाइबारे प्रश्न गर्दा ट्रम्पले आफूलाई यो विचार मन परेको बताए। उनले अमेरिकाले यसअघि नै उक्त जलमार्ग नियन्त्रण गरिरहेको दाबीसमेत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले पत्रकारहरूसँग भने, ‘नाकाबन्दीमार्फत हामी यसलाई नियन्त्रण गरिरहेका छौँ र यसलाई अमेरिकी भूभाग घोषणा गर्ने विचार मलाई मन परेको छ।’
इरानलाई संकेत गर्दै उनले भने, ‘उनीहरू समस्या सिर्जना गर्न सक्छन्। उनीहरूले पानीमा बारुदी सुरुङ राख्न सक्छन् र कसैलाई पनि अर्बौं डलर मूल्यका जहाज बारुदी सुरुङमा परेका हेर्न मन पर्दैन।’
होर्मुज जलडमरूमध्यबारे उनले भने, ‘हामी हरेक साता लाखौँ ब्यारेल तेल बाहिर निकालिरहेका छौँ। तेलको मूल्य घटिरहेको छ र अझै घट्दै जानेछ, जबसम्म हामी अहिले गरिरहेको भन्दा निकै कठोर कदम चाल्ने निर्णय गर्दैनौँ।’
तर इरानले ट्रम्पका दाबीको कडा प्रतिवाद गरेको छ। इरानले होर्मुज जलडमरूमध्यलाई अमेरिकामा गाभ्ने ट्रम्पको आह्वानलाई ‘भ्रमपूर्ण’ भनेको छ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘होर्मुज जलडमरूमध्य इरानी थियो, इरानी हो र इरानी नै रहनेछ। यो जलडमरूमध्य इरानको आदेशमा मात्र बन्द र खुला हुनेछ।’
घरिबाबादीले अमेरिकाले ‘आफ्नो पराजयको वास्तविकता स्वीकार नगरेसम्म’ र आफ्ना ‘भ्रम’ मा रमाइरहेसम्म इरानले महत्वपूर्ण उक्त जलमार्गमा आफ्नो नाकाबन्दी जारी राख्ने बताएका छन्।




प्रतिक्रिया