कोलकाताको होटलमा भीषण आगलागी, बालकसहित कम्तीमा ९ जनाको मृत्यु

कोलकाताको होटलमा भीषण आगलागी, बालकसहित कम्तीमा ९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको पश्चिम बंगालस्थित कोलकाताको मिर्जा गालिब स्ट्रिटमा रहेको पाँचतले साँघुरो भवनमा बुधबार बिहान भीषण आगलागी हुँदा बालक र महिलासहित कम्तीमा ९ जनाको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन्।

बुधबार बिहान करिब २ बजे आगलागी भएको प्रहरी स्रोतले जनाएको छ। आगो नियन्त्रणमा लिन पाँचवटा दमकल घटनास्थलमा परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उद्धारका लागि प्रहरी तथा विपद् व्यवस्थापन विभागका कर्मचारी पनि घटनास्थल पुगेका थिए। घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।

प्रहरीका अनुसार बाक्लो धुवाँका कारण दमकलकर्मीलाई भर्‍याङ हुँदै माथिल्लो तलामा पुग्न कठिन भएको थियो। घटनामा ९ जनाको मृत्यु भइसकेको र मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

घटनास्थलनजिकै पश्चिम बंगाल अग्नि विभागको मुख्यालयसमेत रहेको छ। यो घटना पश्चिम बंगालमा दुई दिनभित्र भएको दोस्रो ठूलो होटल आगलागी हो। सोमबार वीरभूम जिल्लाको तारापीठस्थित एक होटलमा सर्ट सर्किटका कारण आगलागी हुँदा ८ जनाको मृत्यु भएको थियो भने अन्य केही घाइते भएका थिए।

तारापीठको घटनामा होटल सञ्चालकविरुद्ध एफआईआर दर्ता गरी उनीहरूलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।