काठमाण्डु – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले कांग्रेस सांसद प्रकाश देउवालाई पदमुक्त गरेपछि आपत्ति जनाएका छन् ।
धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहले सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाएका हुन् । ११ महिनादेखि अमेरिकामा रहेका कांग्रेस सांसद देउवालाई सभामुख भीम भण्डारीले मंगलबार पदमुक्त गरेका थिए ।
प्रदेश सभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भण्डारीले स्वीकृत गरेपछि कांग्रेसका प्रदेश सभा सदस्य देउवा मंगलबार मुक्त भएका थिए ।
मुख्यमन्त्री खगराज भट्टले बुधबार विश्वासको मत लिने तयारी गरिरहेका बेला त्यसलाई प्रभावित पार्ने उद्देश्यले कांग्रेस सांसद देउवालाई पदमुक्त गरिएको शाहको जिकिर छ ।
‘विश्वासको मतका लागि सरकारले तयारी गरेको छ । सोही तयारीलाई सहज बनाउन सभामुखज्यूले प्रकाश देउवालाई एक्कासि पदमुक्त गरेका हुन’, शाहले भने, ‘सभामुखले पक्षपाती निर्णय गर्नुभयो । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रदेश सभा सचिवालयले पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएकाले देउवालाई संविधानअनुसार पद मुक्त गरिएको जनाएको छ ।




प्रतिक्रिया