काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा)ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले रास्वपा संसदीय दलको विधानलाई समयानुकूल बनाउन प्रमुख सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको हो ।
कार्यदललाई ७ दिनभित्र प्रतिवेदन तथा कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए।
संशोधित विधानमार्फत सांसदहरूलाई संसद्मा उपस्थित हुँदा मर्यादा पालना गराउने, आ–आफ्ना जिम्मेवारी स्पष्ट पार्ने,जनपक्षीय आवाजलाई बुलन्द बनाउने र कानुन निर्माण प्रक्रियामा थप सक्रिय बनाउने उद्देश्य राखिएको छ ।
बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भए–गरेका प्रगति विवरण र गतिविधिहरू बैठकमा राखेका थिए भने सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या,जनताबाट प्राप्त गुनासाहरू र सरकारका कामका कमजोरी औंल्याएका थिए ।
सरकारले काम गरिरहे पनि त्यसको सन्देश आम जनतासम्म प्रभावकारी रूपमा पुग्न नससकेको बिषयमा आत्मसमीक्षा गरिएको पराजुलीले बताए।
साथै रास्वपा सांसदहरूले वैशाख महिनामा बजारमा करिब २२ लाख सिलिन्डर आपूर्ति भएकोमा साउन महिनामा बढेर ४० लाख सिलिन्डर पुग्दा पनि बजारमा किन अभाव देखियो भन्ने विषय उठाएका थिए ।
मन्त्रीहरूले ग्यास अभाव हुनुको प्राविधिक तथा व्यवस्थापकीय कारणहरू स्पष्ट पार्दै यस समस्यालाई समाधान गर्न भइरहेका प्रयासहरूबारे जानकारी गराएको समेत दलका उपनेता पराजुलीले जानकारी दिए।




प्रतिक्रिया