काठमाण्डु – संयुक्त राज्य अमेरिकाले नेपालबाट आयात हुने केही पुरातात्त्विक तथा नृजातीय सामग्रीमा आयात प्रतिबन्ध लगाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको यो प्रतिबन्ध सन् २०२६ अगस्ट १२ मा अमेरिकी सरकारको आधिकारिक राजपत्रमा प्रकाशित भएको छ ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी)ले ‘नेपालका पुरातात्त्विक तथा नृजातीय सामग्रीका श्रेणीमा आयात प्रतिबन्ध लागू गर्ने’ शीर्षकमा नयाँ नियम अमेरिकी सरकारको फेडरल रजिस्टरमा अगस्ट १२मा प्रकाशित गरेको हो । उक्त प्रतिबन्ध सोही दिनदेखि लागू भइसकेको छ ।
सन् २०२६ जनवरी ८ मा संयुक्त राज्य अमेरिका र नेपालबीच नेपालका पुरातात्त्विक तथा नृजातीय सामग्रीका निश्चित श्रेणीमा आयात प्रतिबन्ध लगाउने सम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो ।
यसको प्रक्रिया भने सन् २०२३ मे २३ मा सुरु भएको थियो, जब नेपालले आफ्ना केही पुरातात्त्विक तथा नृजातीय सामग्रीमा आयात प्रतिबन्ध लगाउन अमेरिकी सरकारसँग औपचारिक अनुरोध गरेको थियो । उक्त अनुरोधको उद्देश्य नेपालको सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय संरक्षणलाई बलियो बनाउनुका साथै पुरातात्त्विक वस्तुको अवैध उत्खनन, निर्यात तथा तस्करी नियन्त्रण गर्नु थियो ।
तर यो प्रतिबन्ध नेपालबाट जाने सबै कला सामग्री, मूर्तिकला वा पुरातात्त्विक वस्तुमा पूर्ण प्रतिबन्ध भने होइन । बरु, फेडेरल रजिस्टरमा प्रकाशित नियमसँगै समावेश गरिएको आधिकारिक ‘निर्दिष्ट सूची’ मा उल्लेख भएका निश्चित श्रेणीका
सामग्रीमा मात्र यो प्रतिबन्ध लागू हुन्छ । उक्त सूचीमा निश्चित सामग्री, सांस्कृतिक तथा कालक्रमसम्बन्धी मापदण्ड पूरा गर्ने पुरातात्त्विक र नृजातीय वस्तुहरू समावेश छन् ।
पुरातात्त्विक तथा नृजातीय सामग्रीलाई दुई श्रेणीमा विभाजन गरिएको छ ।
पुरातात्त्विक सामग्रीअन्तर्गत ढुंगा, सिरेमिक तथा पकाइएको माटो, धातु, प्लास्टर, स्टुको तथा नपकाइएको माटो, चित्रकला, हात्तीको दाँत तथा हड्डी, सिसा, छाला, चर्मपत्र, भोजपत्र, कागज तथा ताडपत्र, काठ, शंख तथा अन्य जैविक सामग्री र मानव अवशेष समावेश छन् ।
नृजातीय सामग्रीअन्तर्गत धार्मिक वास्तुकलासँग सम्बन्धित तत्व, धार्मिक तथा अनुष्ठानिक वस्तु र पाण्डुलिपिहरू समावेश छन् ।
अमेरिकी सरकारको सूचनाअनुसार प्रतिबन्धमा परेका पुरातात्त्विक सामग्री करिब ईसापूर्व ३२ हजारदेखि सन् १७७० सम्मका छन् ।
सम्झौताअन्तर्गत समेटिएका केही नृजातीय सामग्री भने करिब १३औँ शताब्दीदेखि सन् १९५० सम्मका छन् । निर्दिष्ट सूचीमा प्रतिबन्ध लागू हुने वस्तुहरूको विस्तृत विवरण, समयावधि र श्रेणी उल्लेख गरिएको छ ।
अमेरिकी सरकारले यी प्रतिबन्धको उद्देश्य नेपालको सांस्कृतिक सम्पदालाई लुटपाट, अवैध उत्खनन र तस्करीबाट जोगाउन सहयोग गर्नु रहेको जनाएको छ ।
यो सम्झौताले नेपालको सांस्कृतिक सम्पदाको प्रतिनिधित्व गर्ने पुरातात्त्विक तथा नृजातीय सामग्रीको संरक्षणको महत्त्वलाई स्वीकार गर्नुका साथै दुई देशबीच हुने वैध सांस्कृतिक, वैज्ञानिक तथा शैक्षिक आदानप्रदानलाई पनि सहयोग गर्ने जनाइएको छ ।
युनेस्कोले सन् १९७० को सांस्कृतिक सम्पत्तिको अवैध आयात, निर्यात तथा स्वामित्व हस्तान्तरण रोकथामसम्बन्धी महासन्धि मार्फत यस क्षेत्रमा कानुनी संयन्त्र विकास गरिसकेको भए पनि नेपाल र अमेरिकाबीच भएको यो पहिलो द्विपक्षीय सम्झौता हो ।




प्रतिक्रिया