काठमाण्डु–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मर्म नै नबुझेको आरोप लगाएका छन् ।
शुक्रबार आयोजित ‘संघीयता, संविधान संशोधन र कार्यविस्तृतीकरण’ विषयक अन्तरक्रियामा दुलालले सरकारको नेतृत्व गरिरहेको दलका नेताहरूबाटै ‘संविधान र व्यवस्था नै फाल्ने कि राख्ने’ भन्ने बहस भइरहनु गम्भीर विषय भएको बताए ।
संविधान संशोधनको बहस थाल्नुअघि रास्वपासहित सबै राजनीतिक दलले अहिलेको संविधान र व्यवस्थाप्रति आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीसहित सबै राजनीतिक दलहरूको र सर्वपक्षीय रूपमा एउटा राष्ट्रिय प्रतिबद्धता हामीलाई जरुरी छ,’ दुलालले भने, ‘हामी व्यवस्था बदल्नेतर्फ छैनौँ । हामी यही व्यवस्थालाई सुदृढ गरेर अगाडि लिएर जाने हो । यही संविधानलाई परिस्कृत र समृद्ध बनाएर अगाडि लिएर जाने हो भन्ने राष्ट्रिय धारणा विकास गर्नु आजको आवश्यकता भयो ।’
उनले सत्तारुढ दलकै नेताहरूमा संविधान संशोधनबारे स्पष्ट दृष्टिकोण नरहेको टिप्पणी गरे । संविधानको पक्षमा के गर्ने, के नगर्ने र कति संशोधन गर्ने भन्ने विषयमा रास्वपा नेताहरुबाटै फरक–फरक धारणा आइरहेको टिप्पणी गरे ।
‘संविधान फालिदिऊँ’ भन्नेसम्मका अभिव्यक्ति आइरहेको उल्लेख गर्दै दुलालले सरकार र सत्तारुढ पार्टीसँग संविधानबारे स्पष्ट दृष्टिकोण नै नभएको आरोप लगाए । ‘अहिले जस्तो शक्ति रुलिङ पावरमा आएको छ, त्यो दृष्टिबाट यो च्यालेन्ज हो, नेगेटिभली च्यालेन्ज छ’, उनले भने, ‘किनभने यो संविधान के हो भन्ने कुरा नै उहाँहरूले बुझ्नुभएको छैन ।’
दुलालले संविधानका मूलभूत विषयमै संशोधन खोज्नु भनेको अहिलेको संविधान फालेर नयाँ संविधान निर्माणमा अग्रसर हुनुजस्तै भएको टिप्पणी गरे ।
दुलालले संविधान संशोधनअघि रास्वपाबाट वर्तमान व्यवस्था परिवर्तन नगर्ने स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानप्रति दलहरूको साझा प्रतिबद्धता बनेपछि मात्रै कुन विषयमा संशोधन आवश्यक छ भन्ने बहस सहज रूपमा अघि बढाउन सकिने उनको भनाइ थियो ।
‘हामी व्यवस्था बदल्न लाग्दैनौं, यही व्यवस्थालाई सुदृढ गर्ने हो भन्ने प्रतिबद्धता रास्वपाको चाहिन्छ,’ दुलालले भने ।




प्रतिक्रिया