काठमाण्डु- राजधानीमा डेरा खोज्दा जातीय विभेद खेप्नुपरेको भन्दै माइतीघर मण्डलामा लामो समयदेखि अनसनरत दीपा नेपालीको विषय राष्ट्रिय सभामा उठेको छ ।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा नेकपा सांसद् घनश्याम रिजालले दीपाको माग सम्बोधनका सरकारले तत्काल संवाद थाल्नुपर्ने बताए ।
नेपालीसँग वार्ता गर्न सरकारलाई रुलिङ गर्न उनले सभाध्यक्षसमक्ष माग गरे ।
‘सरकारले दीपा नेपालीसँग संवादको समेत आवश्यकता नठान्नु सिंगो दलित समुदायप्रतिको अपमान हो, अर्को विभेद हो’, रिजालले भने, ‘आन्दोलतरत दीपा नेपालीसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारलाई रुलिङ गरियोस् भन्ने अध्यक्षज्यूसँग जोडदार माग गर्दछु ।’
डेरा खोज्ने क्रममा जात र थरका आधारमा विभेद हुने गरेको भन्दै सरकार १ कोठा खाली छ ?’ भन्ने नारा लेखेको प्लेकार्ड बोकेर नेपाली चार महिनादेखि माइतीघरमा धर्नामा छिन् ।
रिजालले काठमाण्डुका घरबेटीले जात र थर सोधेर कोठा नदिने गरेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।
त्यही कारण कतिपय दलित विद्यार्थी तथा रोजगारीका लागि राजधानी आएका व्यक्तिहरूले आफ्नो थर लुकाएर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
राज्यले समस्यालाई सम्बोधन नगर्दा दलित समुदायमा सरकारप्रतिको विश्वास कमजोर हुँदै गएको रिजालले उल्लेख गरे ।
राजधानीमै जातीय विभेदका कारण नागरिक आवासको अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।




प्रतिक्रिया