काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र लुकाएर सुनजस्तो देखिने धातु ल्याएको आरोपमा १ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३५ वर्षीय मोहम्मद रसिल हल्दार रहेका छन् ।
उनी फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ मार्फत २०८३ साउन ३१ गते बिहान १०:३० बजे दुबईबाट काठमाण्डु आएका थिए । विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा सादा पोशाकमा खटिएका प्रहरीले उनलाई शंकाका आधारमा नियन्त्रणमा लिएका थिए ।
सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन लुकाएर ल्याएको स्वीकार गरेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
त्यसपछि काठमाण्डु मेडिकल कलेज सिनामंगलमा उनको एक्सरे परीक्षण गर्दा पेटभित्र शंकास्पद धातु देखिएको थियो । तत्काल शौच गराउँदा धातु बाहिर ननिस्किएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई ५ दिन अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा राखिएको अवस्थामा भदौ ५ गते शौच गर्दा करिब १५० ग्राम तौल भएका सुनजस्तो देखिने पहेँलो क्याप्सुल आकारका २ थान धातु फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका हल्दारलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद धातु सुन नै हो वा होइन भन्ने सम्बन्धमा सम्बन्धित निकायबाट आवश्यक परीक्षण तथा अनुसन्धान हुने जनाइएको छ ।





प्रतिक्रिया