काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङ आक्रामक प्रस्तुतिका कारण चर्चित छिन् । केही दिनअघि संसद् बैठकमै आक्रोशित भएर झोक्किएर बाहिरिएकी सांसद आशिकाले शुक्रबार फेरि त्यस्तै प्रवृत्ति दोहोर्याएकी छन् ।
शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे छलफल भइरहेको बेला सांसद आशिका चर्काचर्कीबिच रिसाएर बैठक बहिष्कार गरेर हिँडेकी छन् ।
छलफलका क्रममा सांसद आशिका र ललितपुर महानगरपालिकाका नगर प्रमुख (मेयर) चिरिबाबु महर्जनबिच भनाभन भएको थियो । बैठकमा मेयर महर्जनले महानगरपालिकाले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भए पनि आफूहरूमाथि विभिन्न आरोप लगाउने र मुद्दा लगाउने काम भइरहेको गुनासो गरेका थिए । उनले सांसदहरूले पनि विषयको वास्तविकता नबुझी दबाब दिने गरेको भन्दै कामको प्रकृति र समस्या बुझेर मात्रै धारणा बनाउन आग्रह गरेका थिए ।
त्यसपछि सांसद आशिकाले मेयर महर्जनको भनाइप्रति आपत्ति जनाएपछि दुवैबिच भनाभन भएको थियो । बैठकमा सहभागीहरूबिच कुराकानी चर्किँदै गएपछि मन्त्री तिमिल्सिनाले हस्तक्षेप गर्दै वातावरणलाई शान्त पार्ने प्रयास गरेकोमा सांसद तामाङ बैठकबाट झोक्किएर बाहिरिएकी हुन् ।
बैठकमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्दा देखिएका समस्या, प्रभावित स्थानीयका गुनासा, काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान तथा स्थानीय तहको भूमिका लगायत विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया