कांग्रेसको एकपक्षीय महाधिवेशनबाट विभाजन झन् गहिरिने शशांक कोइरालाको चेतावनी

कांग्रेसको एकपक्षीय महाधिवेशनबाट विभाजन झन् गहिरिने शशांक कोइरालाको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहका संयोजक शशांक कोइरालाले पार्टीभित्रको विवाद समाधान नगरी महाधिवेशन आयोजना गरिए कांग्रेसमा संरचनागत विभाजनको प्रक्रिया सुरु हुने चेतावनी दिएका छन् ।

कोइरालाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशनको निर्णय गरी कार्यतालिका सार्वजनिक गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनका अनुसार पार्टी सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको डिभिजन बेञ्चको निर्णय–आदेशविरुद्ध पुनरावलोकनका लागि निवेदन दिएका थिए । मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासबाट पुनरावलोकनको अनुमति प्राप्त भइसकेको र मुद्दा हाल विचाराधीन रहेको कोइरालाको भनाइ छ ।

पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै कोइरालाले विशेष महाधिवेशनका कारण केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित भएको दाबी गरेका छन् ।

यस्तो अवस्थामा विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन आयोजना गरे पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया सुरु हुने उनको निष्कर्ष छ । त्यसको नकारात्मक असर आगामी स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनमा समेत पर्ने उनले बताए ।

कोइरालाले कथित विशेष महाधिवेशन पक्षबाट हुने अधिवेशन तथा महाधिवेशनलाई अवैधानिक र विभाजनकारी भन्दै त्यस्ता गतिविधि आयोजना नगर्न तथा नगराउन आग्रह गरे । पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई त्यस्ता गतिविधिमा सहभागी नहुन उनले अपिल गरेका छन् ।

उनले भने, ‘सुदृढ, सबल र गतिशील कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको आवश्यकता हो ।’ कोइरालाले पार्टी एकतालाई प्राथमिकता दिन आह्वान गरेका छन् ।