काठमाण्डु – जेनजी आन्दोलनका अगुवामध्येका एक पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिमा प्रभावशाली भूमिकासहित उदाएका छन् ।
जेनजी आन्दोलनको सुरुआतकर्ताका रूपमा परिचित यादव रास्वपा सभापति रवि लामिछानेनिकट रहँदै पार्टीको सहमहामन्त्रीसम्म मनोनित भएपछि उनको राजनीतिक यात्रा चर्चामा आएको छ ।
यादवलाई जेनजी आन्दोलनका क्रममा सक्रिय भूमिका निर्वाह गरेका युवामध्ये एकका रूपमा हेरिन्छ । आन्दोलनपछि उनले युवाको राजनीतिक भूमिकालाई पार्टीगत राजनीतिसँग जोड्ने प्रयास अघि बढाएका थिए । यही क्रममा उनी रवि लामिछानेसँग नजिकिएको र रास्वपाले उनलाई मधेशमा पार्टीको गतिविधि विस्तारका लागि अघि बढाउन खोजेको चर्चा छ ।
यादवको राजनीतिक सक्रियताको अर्को चर्चित पक्ष भनेको रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’बिच सहकार्य र एकताको पहल हो । रवि र बालेन मिल्नुपर्ने धारणा अघि सार्दै उनले अभियान नै चलाएका थिए । त्यसक्रममा उनी २ पक्षबिच संवाद र सहकार्यको वातावरण बनाउन सक्रिय रहेका थिए । त्यसैकारण उनलाई रवि–बालेन एकताका सूत्रधारका रूपमा समेत चित्रण गर्ने गरिएको छ ।
सभापति लामिछाने संकटमा परेका बेला यादव उनलाई भेट्न जेलसम्म पुगेका थिए । यसले रविसँग उनको निकटता र राजनीतिक सम्बन्धलाई प्रस्ट पार्छ । जेनजी अगुवा यादव गत २३ भदौको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डुसँग अनुमति लिनेमध्ये एक थिए । जेनजी अगुवामध्ये रास्वपा प्रवेश गर्ने अभियन्ता उनी पहिलो हुन् ।
राजनीतिमा आउनुअघि यादवले भारतमा पत्रकारिता अध्ययन गरेका थिए । पत्रकारिता पृष्ठभूमिका कारण सञ्चार, युवा परिचालन र राजनीतिक अभियान सञ्चालनमा उनको प्रभाव देखिएको छ । उनी आसन्न स्थानीय तहको निर्वाचन रणनीतिसँग सम्बन्धित गतिविधिमा समेत सक्रिय रहेको रास्वपा स्रोतले जनाएको छ ।
जेनजी आन्दोलनको अग्रपंक्तिबाट राजनीतिक दलको केन्द्रीय नेतृत्व तहसम्म पुगेका यादवको यात्रा छोटो समयमै तीव्र गतिमा अघि बढेको छ । आन्दोलनबाट स्थापित युवा नेतृत्वलाई पार्टी राजनीतिमा स्थान दिने र त्यसलाई आगामी निर्वाचनको रणनीतिसँग जोड्ने रास्वपाको प्रयासमा यादवको भूमिका महत्वपूर्ण हुनेछ ।




प्रतिक्रिया