काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बारा जीतपुरसिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र हत्याको निष्पक्ष तथा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
सभापति थापाले सामाजिक सञ्जाल फेसबूकमार्फत बालिका गरिमा चौधरीको हत्याले आफूलाई अत्यन्त दु:खी र स्तब्ध बनाएको उल्लेख गर्दै मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
गरिमा हराएको दिनदेखि नै परिवारले राज्यको साथ र सहयोग खोजिरहेको उल्लेख गर्दै उनले सरकारले पीडित परिवारको पीडा र उनीहरूले राज्यप्रति राखेको आशाको गम्भीरता बुझेकोबारे प्रश्न गरेका छन् ।
घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम सजाय दिलाउन सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्ने थापाको भनाइ छ । यस्ता घटना पुन: दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी, संवेदनशील र जवाफदेही बनाउन तत्काल कदम चाल्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बालिका तथा किशोरीको सुरक्षाका लागि अझै धेरै काम गर्न बाँकी रहेको घटनाले पुन: स्मरण गराएको उल्लेख गर्दै थापाले हरेक बालिका सुरक्षित र संरक्षित हुने तथा न्यायप्रति विश्वस्त हुने वातावरण निर्माण नभएसम्म राज्यको जिम्मेवारी पूरा नहुने धारणा व्यक्त गरेका छन् ।




प्रतिक्रिया