काठमाण्डु – जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेको गुठीको अतिक्रमित जग्गामा निर्माण गरिएका घरटहराहरू भत्काउन सुरु गरिएको छ।
गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले अतिक्रमित जग्गामा बनेको संरचना हटाउन शनिबार बिहान डोजर लगाएर हटाउन सुरु गरेको हो।
समितिले पहिलोचरणमा अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाएको छ । त्यस क्रममा जनकपुरधाम–६ स्थित गिरनारी पोखरीको अतिक्रमित डिल खाली गराउने काम अघि बढाएको छ ।
यस्तै शनिबार नै अन्य सात वटा पोखरीको अतिक्रमण हटाइने समितिका सदस्य सचिव जनक पोखरेलले बताए । उनका अनुसार गत साउन १ गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिएको थियो ।
पहिलो चरणमा अतिक्रमित मध्ये पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमण मुक्त गराइने योजना रहेको उनले बताए ।
पहिलो चरणअन्तर्गत शनिबार गोडधोई पोखरीबाट अतिक्रमित संरचना हटाउन सुरु गरिएको छ। यसपछि विशहरा पोखरी, दशरथ तलाउ, अर्गजा सर, रत्न सागर, मुरली सर, दीर्घिका सरलगायत तिनका डिल क्षेत्रमा भएका अनधिकृत संरचना र अतिक्रमण हटाइने छ।
पहिलो चरणमा पोखरी, मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमण मुक्त गराउने कार्ययोजनासहित गरी वर्गीकरण गरिएको छ ।
अतिक्रमण हटाउन २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको छ ।
समितिले यसअघि मन्दिर परिसर, पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण क्षेत्र रेखाङ्कन गरी सम्बन्धित व्यक्तिलाई सात दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न र अन्य गुठी जग्गामा घरटहरा निर्माण गरी बसोबास गरिएको क्षेत्र रेखाङ्कन गरी पन्ध्र दिनभित्र अतिक्रमण हटाउन सूचना दिएको थियो।
सूचनाको म्याद सकिएलगत्तै दुई हप्ताअघि नै संरचना हटाउने तयारी गरे पनि सुनसरीको कप्तानगन्ज घटनाले गर्दा सिर्जित समस्याका कारण केही ढिला गरी अतिक्रमण हटाउन सुरु गरिएको हो।










प्रतिक्रिया