गरिमा हत्याविरुद्ध बुटवलमा प्रदर्शन

गरिमा हत्याविरुद्ध बुटवलमा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल– बाराको जितपुर सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर बुटवलमा महिलाहरूले सडकमा उत्रिएर विरोध जनाएका छन् ।

शनिबार बिहान ट्राफिक चोकबाट सुरु भएको र्‍यालीमा सयौं महिला सहभागी थिए ।

उनीहरूले कालो ब्यानर र विभिन्न सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै बालिकाको हत्यामा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गरे ।

प्रदर्शनकारीहरू बुटवल उपमहानगरपालिका कार्यालय, इलाका प्रहरी कार्यालय हुँदै तुलसीपुर उच्च अदालतको बुटवल इजलास पुगेका थिए ।

त्यहाँ केही समय धर्ना दिँदै उनीहरूले बालिका तथा महिलाको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्ने बताए ।

प्रदर्शनमा सहभागीहरूले यस्ता घटनाका दोषीलाई कडा सजाय नहुँदा अपराध दोहोरिएको भन्दै बलात्कार र हत्यामा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने धारणा राखे ।

गरिमा जितपुर सिमरा–१ दशधुरेमा रहेको सुकुम्बासी बस्तीबाट आइतबार बिहान हराएकी थिइन् ।

स्थानीय सरस्वती आधारभूत विद्यालयमा प्ले ग्रुपमा अध्ययनरत उनी हराएपछि खोजी सुरु गरिएको थियो ।

प्रहरीले मंगलबार साँझ घरबाट करिब २०० मिटर टाढा रहेको खाली घरमा उनको शव फेला पारेको थियो ।

गाउँको बीचमा रहेको उक्त घरबाट दुर्गन्ध आएपछि खोजी गर्दा कपडामा पोको पारिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।