हेटौंडा कपडा उद्योग चलाउन लगानी जुटाउने मन्त्री यादवको प्रतिबद्धता

हेटौंडा कपडा उद्योग चलाउन लगानी जुटाउने मन्त्री यादवको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

शनिबार उद्योगको स्थलगत निरीक्षणपछि मन्त्री यादवले उद्योग सञ्चालनका लागि आवश्यक लगानी जुटाउने प्रतिबद्धता जनाइन्। उद्योगलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताइन् ।

हेटौंडा उपमहानगरपालिका–८ स्थित उद्योगमा पुगेर मन्त्री यादवले पूर्वाधार, मेसिनको अवस्था र उत्पादनको सम्भावनाबारे जानकारी लिएकी थिइन्। नेपाली सेनाका अधिकारीहरूले उद्योगको अवस्थाबारे उनलाई जानकारी गराएका थिए ।

उद्योगमा रहेका ४८८ तानमध्ये अहिले १२ वटा मात्रै सञ्चालनमा छन् । नेपाली सेनाले मर्मतसम्भारको जिम्मेवारी पाएपछि साउन २३ गते दुईवटा तान सञ्चालन गरी परीक्षण उत्पादनसमेत गरिएको थियो ।

मन्त्री यादवले बन्द अवस्थामा रहेका कपडा उद्योगलगायत अन्य उद्योगलाई पनि पुनः सञ्चालन गर्ने सरकारको नीति रहेको बताइन् । उद्योग सञ्चालनसँगै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

चीनको सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो । आर्थिक तथा व्यवस्थापकीय समस्याका कारण २०५६ सालदेखि उत्पादन बन्द भएको उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा छ ।