युवाहरू अर्ति–उपदेश सुन्नेमा मात्र सीमित हुनु हुँदैन : नेता खनाल

युवाहरू अर्ति–उपदेश सुन्नेमा मात्र सीमित हुनु हुँदैन : नेता खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता झलनाथ खनालले युवाहरू अर्ति–उपदेश सुन्नेमा मात्र सीमित हुन नहुने बताएका छन् ।

नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा नेता खनालले युवा कार्यकर्ताहरूलाई समेत नेतृत्व सम्हाल्न अघि बढ्न आग्रह गरे ।

युवामा नेतृत्व गर्ने आँट, हिम्मत र सिर्जनशीलता विकास गरी पार्टीको अग्रपंक्तिमा ल्याउनुपर्ने उनले बताए । पार्टीलाई पुरानो ढाँचा र कार्यशैलीबाट सञ्चालन गर्न नसकिने भन्दै उनले पुनर्गठन र रूपान्तरण आवश्यक रहेको बताए ।

बदलिँदो परिस्थितिअनुसार पार्टीको संरचना, नीति र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उनले बताए । उनले पुराना तथा अग्रज नेताहरूले पद ओगटेर बस्नुभन्दा नीति निर्माण, सल्लाह–सुझाव र कार्यकर्ता प्रशिक्षणमा भूमिका केन्द्रित गर्नुपर्ने बताए ।

समाजवादका नाममा अमूर्त व्याख्या मात्र गरेर नपुग्ने भन्दै उनले नेपाली विशेषताको वैज्ञानिक समाजवादको स्पष्ट र ठोस कार्यक्रम जनतामाझ लैजानुपर्ने बताए । देश गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको दाबी गर्दै उनले प्रतिक्रियावादी शक्तिहरू विभिन्न रूपमा सक्रिय रहेको बताए ।

यस्तो अवस्थामा पुराना राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने भए पनि दिशाहीन बन्दै गएको उनले बताए । नेपाली कांग्रेस अझै २ धारमा विभाजित रहेको भन्दै उनले उसले एकताबद्ध रूपमा मुलुकलाई ठोस राजनीतिक निकास दिन सक्ने अवस्था नरहेको बताए ।

एमालेभित्र पनि बहुसंख्यक पंक्ति पार्टी रूपान्तरणको पक्षमा पुगिसकेको बताउँदै उनले वाम तथा प्रगतिशील शक्तिहरूले वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ दिशासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।