धबलशमशेरले ज्ञानेन्द्र भेटेकोबारे राप्रपा प्रवक्तालाई प्रश्नः तपाईंहरुले पूर्वराजाको साथ गुमाउनुभएको हो ?

धबलशमशेरले ज्ञानेन्द्र भेटेकोबारे राप्रपा प्रवक्तालाई प्रश्नः तपाईंहरुले पूर्वराजाको साथ गुमाउनुभएको हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नवगठित जय नेपाल पार्टीका अध्यक्ष धवलशमशेर जबराले पूर्वराजा ज्ञानेन्द्र शाहसँग शनिबार साँझ भेट गरे ।

जबराले आफूले पूर्वराजा भेटेको र उनले आगामी यात्राको शुभकामना दिएको सामाजिक सञ्जालमा लेखेका छन् ।

जबरा यसअघि पूर्वपञ्चहरुको भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री थिए ।

राप्रपा त्यागेर उनले दुर्गा राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि भन्दै प्रसाईंसहित भएर नयाँ दल खोले । यद्यपि दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन जाँदासम्म प्रसाईं र जबराको बाटो अलग भइसकेको थियो ।

जबराले पूर्वराजासँग संवाद गरेको र आफू नै राजतन्त्रको एजेण्डा उठाउने पूर्वराजाको आधिकारिक समूह भएको जस्तो दाबी गरेको विषयमा काठमाण्डु पाटीले राप्रपा प्रवक्ता महोनकुमार श्रेष्ठलाई सोधेको थियो ।

जवाफमा श्रेष्ठले पूर्वराजा र जबराबीच पूर्वनिर्धारित भेटघाट नभएको प्रतिक्रिया दिए ।

हिमानी ट्रष्टको कार्यक्रममा पुगेका जबराले त्यहीं पूर्वराजासँग फोटो खिचाएको टिप्पणी उनको छ ।

‘मैले पनि मिडियामार्फत भेटेको भन्ने विषयमा जानकारी पाएँ । भेटमा कुराकानी भएको भन्ने उहाँको दाबी पनि देखियो’, श्रेष्ठले काठमाण्डु पाटीसँग भने, ‘हिमानी ट्रष्टको कार्यक्रममा सोल्टी होटमा जम्काभेट भएको हो । नयाँ पार्टी खोलेको मान्छे भेट्दा ‘राजा’ ले सञ्चो बिसञ्चो सोध्नु र शुभकामना दिएको विषयलाई राजनीतिको रोटी सेकाउने औजार नबनाएको हुने हो ।’


श्रेष्ठले आफूहरु वा अरु कसैले पनि राजाको नाम भजाएर राजनीति गर्न नहुने उल्लेख गरे ।

श्रेष्ठले राजाको दल नहुने भन्दै कसैले पनि आधिकारिक म हुँ भन्ने दाबी गर्न नमिल्ने बताए । जबरा नेतृत्वको नयाँ दल पूर्वराजाको आधिकारिक नभएको जिकिर उनको छ ।

‘फोटो खिचेपछि यो पो हो कि क्या हो ? भन्ने पार्न खोज्नुभएको होला’, श्रेष्ठले भने, ‘यसरी हल्लाखल्ला त गर्न सकिएला । तर, राजनीति चल्दैन ।’

जबराले भने आफू र पूर्वराजाबीच मुलुकको अवस्थाबारे लामो कुराकानी भएको दाबी गरेका छन् ।