काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछिको सबैभन्दा संकटपूर्ण अवस्थाको सामना गरिरहेको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा प्रचण्डले देशको वर्तमान अवस्थालाई सामान्य राजनीतिक संकटका रूपमा मात्र हेर्न नहुने बताए ।
राष्ट्रिय स्वाधीनतामाथिको चुनौती, वैदेशिक हस्तक्षेप तथा उत्पीडित वर्गका मुद्दालाई कम्युनिस्ट आन्दोलनले प्राथमिकतामा राख्न नसक्दा अहिलेको परिस्थिति आएको उनको भनाइ थियो ।
प्रचण्डले देशलाई संकटबाट बाहिर निकाल्न कम्युनिस्ट शक्तिहरूबीच पुनः सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । जनताको विकास र समृद्धिको चाहना पूरा गर्नसमेत कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
‘अहिले देश साँच्चै संकटमा छ, राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन’, उनले भने, ‘यो संकटबाट पार पाउन र जनताको विकास तथा समृद्धिको आकांक्षा सम्बोधन गर्न कम्युनिस्ट आन्दोलनको एकता नै मुख्य साँचो हो ।’
विगतका कमजोरीका विषयमा एकअर्कालाई दोष लगाउनेभन्दा राजनीतिक शक्तिहरूले सामूहिक रूपमा आत्मसमीक्षा गर्नुपर्ने प्रचण्डले उल्लेख गरे ।
विगतमा भएका कमजोरीबाट पाठ सिकेर अहिलेको चुनौतीको सामना गर्न साझा धारणा निर्माण गर्नुपर्ने उनले बताए ।
राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलन कम्युनिस्ट आन्दोलनकै अभिन्न विषय भएको उल्लेख गर्दै प्रचण्डले यसलाई नङ र मासुको सम्बन्धसँग तुलना गरे ।
देशको वर्तमान संकटबाट निकास खोज्न विभिन्न कम्युनिस्ट दल र समूहबीच गम्भीर छलफल आवश्यक रहेको बताउँदै उनले कार्यक्रममा सहभागी प्रतिनिधिहरूलाई साझा बाटो पहिल्याउन आग्रह गरे ।




प्रतिक्रिया