काठमाण्डु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगत ३५ वर्षको कुरा नगर्न पार्टीका नेताहरूलाई आग्रह गरेका छन् ।
आइतबार नीति, संगठन र नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो आग्रह गरेका हुन् ।
लामिछानेले भने, ‘अब ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू । ३५ वर्षको योजना ल्याउनुस् । अबको ३५ वर्ष । वितेको ३५ वर्षलाई देखाएर उहाँहरूलाई कचकच गर्ने ठाउँमा छैनौं । जति सके गरे, धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने ? यो त हाम्रै हातमा छ नि । हिजो हामीले दोष लगाउने कैयौं मानिसहरू थिए । कैयौं नेताहरू थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषै दोषको चाङमा आफूलाई अग्लो देखाउन सक्छौं । आज कसलाई दोष देखाउने ?,’ नेताहरूलाई प्रश्न राखे ।
उनले कुनै पनि पार्टी नेता कार्यकर्तालाई लोकतन्त्रविरोधी गतिविधि र क्रियाकलाप नगर्न निर्देशन पनि दिए ।
यस्तै उनले आफूले हाँसि हाँसि किस्तीमा उपहार पाएको प्रधानमन्त्री पद छाडेको बताउँदै नेता कार्यकर्ताहरूलाई आवश्यक पर्दा त्याग गर्न तयार रहनुपर्ने बताए ।
‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री बन्नका निम्ति मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो । भइदिउँ न त भन्दा त्यति धेरै गाह्रो पनि थिएन । त्यतिखेर एउटै चिज दिमागमा आयो, यत्रो आन्दोलन, यत्रो आशा, भरोसा कहाँ जान्छ ? म भइ नै हालेको भए, दुई, चार महिनाको प्रधानमन्त्री हुन्थेँ होला,’ सभापति लामिछानेले भने, ‘धेरै नै भए सिंहदरबारमा एउटा तस्वीर सम्म टाँसिन्थ्यो होला । तर, देशले यत्रो आन्दोलन कुरेर बसेको थियो, देशले यत्रा होनाहार युवा कुरेर बसेको थियो, त्यतिखेर साँच्चै मलाई त्यो महसुस भएको थियो ।’




प्रतिक्रिया