बागमतीका मुख्यमन्त्रीले विश्वासको मत पाउलान्, राप्रपामा ‘फ्लोर क्रस’का सम्भावना

बागमतीका मुख्यमन्त्रीले विश्वासको मत पाउलान्, राप्रपामा ‘फ्लोर क्रस’का सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सोमबार विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री थापामगरले प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उक्त दिन विश्वासको मतको प्रस्ताव सभामा प्रस्तुत गर्ने छन्।

थापा मगरलाई बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री नियुक्त हुँदा थापालाई एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गरी कुल ६३ सांसदको समर्थन रहेको थियो। तर विश्वासको मत लिने दिनसम्म आइपुग्दा सत्ता समीकरण निकै चुनौतीपूर्ण बनेको छ।

राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ। राप्रपाले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा विपक्षमा मतदान गर्न, तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको हो।

बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले ह्विप जारी गरेकी हुन्। तामाङले जारी गरेको ह्विप आइतबार दिउँसो नै प्रदेश सभाका सबै राप्रपा सदस्यलाई पठाइएको छ।

यो ह्विपपछि बागमती प्रदेश सभामा सरकारको पक्षमा आवश्यक बहुमत जुटाउने प्रयासलाई थप चुनौतीपूर्ण बनाउने देखिएको छ।

कार्यभार सम्हालेको चौथो दिनमै विश्वासको मत लिन लागेका मुख्यमन्त्रीलाई राप्रपाको केन्द्रबाटै आएको यो निर्णयले आवश्यक बहुमत जुटाउन सकस पर्ने देखिएको छ। हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार टिकाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेश सभाको अङ्कगणित हेर्दा मुख्यमन्त्री थापाको पक्षमा एमालेका २४ सांसदको मत मात्र सुनिश्चित छ। सभामुख पद रिक्त रहेकाले बैठकको अध्यक्षता उपसभामुखले गरिरहेकी छन्।

राप्रपाका प्रदेशसभा सदस्यहरूले पार्टीको निर्देशनअनुसार मतदान गरेमा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा उनीहरूको समर्थन रहने छैन। यससँगै विश्वासको मतको मतदानलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।

राप्रपाले विपक्षमा मतदान गर्न निर्देशन दिए पनि सो पार्टीका तीन जना सांसद अहिले पनि मन्त्रीका रूपमा सरकारमा सहभागी छन्। साथै पार्टीले संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ। यस्तो अवस्थामा राप्रपाका केही सांसदले ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सम्भावना बलियो छ।