काठमाण्डु– चोरीको स्कुटरबाट राइड शेयरिङ चलाउने एक युवक पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–७ घर भइ काठमाण्डु नयाँ बसपार्क बस्ने ३९ वर्षीय सरोज खनाललाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डुको नक्सालबाट भक्तपुर दरबार स्क्वायर जाने क्रममा यात्रुले स्कुटरमै ल्यापटपको झोला बिर्सिएपछि खनाल सम्पर्कविहीन भएका थिए। त्यसपछि पीडितको आग्रहमा ट्राफिक प्रहरीले खोजी थालेको थियो।
खोजीका क्रममा प्रहरीले खनाललाई स्कुटरसहित नियन्त्रणमा लिएको हो। अनुसन्धान गर्दा उनले प्रयोग गरेको स्कुटर गत असार २३ गते काठमाण्डु महानगरपालिका–२६, गोङ्गबुबाट चोरी भएको खुलेको प्रहरीले जनाएको छ।
यस्तै खनालले तेस्रो व्यक्तिको राइड सेयरिङ आईडी प्रयोग गरेर राइड सेयरिङको काम गर्दै आएको खुलेको छ ।
खनालले स्कुटरमा परिवर्तित नम्बर वा ‘प्र ००–०० प ००’ नम्बर प्रयोग गर्ने गरेका थिए। यसअघि हराएका मोटरसाइकल खोजी गर्ने क्रममा एउटा मोटरसाइकलको डिक्कीभित्र खनालको नागरिकता समेत फेला परेको थियो।
फेला परेको ल्यापटप सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
खनाल लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न रहेको र अन्य मोटरसाइकल चोरीमा समेत उनको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ। खनाललाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।




प्रतिक्रिया