काठमाण्डु – बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने वा नदिने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद थप चर्केको छ ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा राप्रपाका सांसदलाई पार्टीभित्रैबाट दुई वटा फरक ह्विप जारी भएको छ ।
मुख्यमन्त्री किरण थापाले सोमबार प्रदेश सभामा विश्वासको मत लिँदै छन् । सरकारको पक्षमा बहुमत जुटाउन आवश्यक मतका लागि राप्रपाका सांसद निर्णायक बन्न सक्ने अवस्थामा पार्टीभित्रकोे विवादले विश्वासको मतको परिणामलाई समेत प्रभावित हुने देखिएको छ ।
दुई थरी ह्विप आएपछि सांसदहरू अन्योलमा परेका छन् । बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले कुमारी तामाङलाई प्रमुख सचेतकबाट हटाएर आफू निकटलाई डम्बर तामाङलाई प्रमुख सचेतक नियुक्त गर्दै मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।
त्यस्तै, राप्रपा प्रदेश सचेतक कुमारी तामाङले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न आइतबार नै ह्विप जारी गरेकी छिन् । राप्रपा केन्द्रले पनि आइतबार मुख्यमन्त्रीको विपक्षमा मत दिन ह्विप जारी गरेको थियो ।
यसरी एउटै दलका सांसदलाई विश्वासको मतको पक्ष र विपक्षमा मतदान गर्न ह्विप जारी भएपछि पार्टी भित्रको विवाद थप चर्केको हो ।
राप्रपाकी प्रमुख सचेतक तामाङले उद्धव थापामाथि कारबाही नभएसम्म प्रदेश सभा बैठक सञ्चालन हुन नदिने चेतावनी दिएकी छन् ।
पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेश सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले थापामाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ । यही विषयलाई लिएर तामाङले प्रदेश सभा बैठकमै पार्टीको अडान कडाइका साथ प्रस्तुत गरेकी हुन् ।
बागमती सरकार गठनका क्रममा पार्टीको केन्द्रीय निर्णयविपरीत संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा थापवालाई समर्थन गरेका थिए । उनलाई पार्टीले कारबाही प्रक्रिया अघि बढाएको छ ।
केन्द्रले थापालाई कारबाहीको सिफारिश गरेपाि थापा आफू संसदीय दलको नेता नै रहेको दाबी गरेका छन् । उनले संसदीय दलको नेताका रुपमा कामकाज पनि गरिरहेका छन् ।
संसदीय दलको नेताकै हैसियतमा थापाले तामाङलाई प्रमुख सचेतक नियुक्त गरेका छन् ।
राप्रपाको विवादका कारण प्रदेश सभामा पार्टीको आधिकारिक संसदीय दलको निर्णय र ह्विप कसको मान्य हुने भन्ने प्रश्नसमेत थप पेचिलो बनेको छ ।
मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका बेला राप्रपाभित्र देखिएको दुई थरी ह्विपले प्रदेश सरकारको पक्षमा र विपक्षमा रहने सांसदहरूको समीकरणलाई थप अन्योलपूर्ण बनाएको छ ।
सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।
मुख्यमन्त्री थापाको आफ्नै दल एमालेले पनि अनिवार्य उपस्थितको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाएको छ ।
थापाले विश्वासको मत पाउन प्रदेश सभाको बहुमत ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेकपाको २६ र एमालेको २५ गरेर ५१ जना मात्रै सांसद छन् । उपसभामुख अप्सरा चापागाईं रहेकाले उनले मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत हाल्न पाउने संवैधानिक व्यवस्था छ । जस कारण मुख्यमन्त्री थापालाई प्रदेश सभाको चौथो ठूलो दल राप्रपाको साथ अनिवार्य बनेको हो ।
राप्रपा दुई समूहमा विभाजित भएकाले थापाले विश्वासको मत प्राप्त गर्ने प्रदेश सभा सदस्यको यकिन संख्यामा अझै अन्यौल छ ।
हाल प्रदेशसभा १०४ सदस्यीय रहेको छ । यहाँ नेपाली कांग्रेसको ३६ सिट, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।




प्रतिक्रिया