प्रधानमन्त्री बालेनको मुस्ताङ भ्रमणमा अमेरिकी प्रतिनिधि पुगेको काँग्रेसको आरोप

प्रधानमन्त्री बालेनको मुस्ताङ भ्रमणमा अमेरिकी प्रतिनिधि पुगेको काँग्रेसको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद् खड्ग शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई निजी भ्रमण भनिए पनि सोही समयमा अमेरिकी पक्षका प्रतिनिधि पनि मुस्ताङ पुगेको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमण र अमेरिकी प्रतिनिधिको मुस्ताङमा भएको भनिएको उपस्थितिबारे सरकारको आधिकारिक धारणा माग गरे ।

प्रधानमन्त्रीसँग अमेरिकी अधिकारीको भेट भए÷नभएको स्पष्ट गर्न माग गर्दै उनले कोसँग र के विषयमा कुराकानी भएको भन्नेबारे सदन र जनतालाई जानकारी दिइनुपर्ने उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई निजी भ्रमण भनिएको छ’, शाहीले भने, ‘तर, सोही समयमा अमेरिकी पक्षका प्रतिनिधि अधिकारी मुस्ताङ पुगेको चर्चा सार्वजनिक भएको छ ।’

अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर मुस्ताङ पुगेको दाबी गर्दै उनले उनी त्हयाँ जानुको उद्देश्य सरकारले स्पष्ट गर्नुपर्ने बताए ।

उनले सरकारसँग अमेरिकी प्रतिनिधिमण्डलमा को–को मुस्ताङ पुगेका थिए, उनीहरूको पदीय जिम्मेवारी के हो भन्नेबारे स्पष्ट जानकारी चाहिने उल्लेख गरे ।
‘अमेरिकी प्रतिनिधि को–को मुस्ताङ पुगेका थिए ? उनीहरूको पद र जिम्मेवारी के हो ? उनीहरू मुस्ताङ किन गएका हुन् ? शाहीले प्रश्न गरे ।

प्रधानमन्त्री र अमेरिकी प्रतिनिधिबीच मुस्ताङमा भेटघाट वा छलफल भएको थियो कि थिएन भन्ने विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने शाहीको भनाइ छ ।

भेटघाट भएको भए त्यसको विषय र छलफलका क्रममा भएका समझदारीबारे समेत संसदलाई जानकारी गराउनुपर्ने माग गरे ।

‘प्रधानमन्त्री र अमेरिकी प्रतिनिधिबीच मुस्ताङमा भेटघाट वा छलफल भएको हो वा होइन ? यदि भएको हो भने कुन विषयमा के–कस्ता समझदारी र छलफल भएको हो ?’ शाहीले भने ।

मुस्ताङ भ्रमणसँग जोडिएको विषय नेपालको परराष्ट्र नीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित भएकाले सरकारले तत्काल संसद र नेपाली जनतालाई तथ्यसहित जानकारी गराउनुपर्ने उनको माग छ ।